बैशाख १८
नारायणघाट–बुटवल सडकमा पछिल्लो एक महिनामा अहिलेसम्मकै उच्च प्रगति भएको छ ।
आयोजनाका अनुसार अप्रिल २०२५ मा यो आयोजना सुरु भएयताकै उच्च अर्थात् ३ दशमलभ ६३ प्रतिशत भौतिक प्रगति भएको हो । मे २०२५ मा यो रेकर्ड समेत तोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
अहिले यो सडकमा कुल ८२ प्रतिशत भागमा नयाँ कालोपत्र सडक हुँदै यात्रा गर्न सकिने भएको छ । यो आयोजनाको कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ ।
अप्रिल २०२५ मा ३ दशमलभ २६ प्रतिशत काम गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । यो आयोजना अन्तर्गत अहिले रातको समयमा यातायात सञ्चालन रोकेर धमाधम काम भइरहेको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको १ सय १३ किलोमिटर खण्ड यस आयोजनाभित्र पर्छ । सरकारले माघ २०७५ मा आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । त्यसबेला आयोजनाको काम ४२ महिनाभित्र सक्ने सम्झौता भएको थियो ।
सम्झौता अनुसार काम भएको भए आयोजना साउन २०७९ मा सकिनुपर्ने थियो । तर, तोकिएको अवधिमा काम नसकिएपछि हरेक वर्ष साउनमा सरकारले एक-एक वर्ष म्याद थप गर्दै आएको छ । यस वर्ष पछिल्लो समय भने कामले गति लिएको देखिएको छ ।
यो सडक आयोजना गैंडाकोट–दाउन्ने ( ६४ दशमलभ ४२ किलोमिटर) लाई पूर्वी खण्ड र दाउन्ने–बुटवल (४८ दशमलभ ५८ किलोमिटर) लाई पश्चिम खण्डमा विभाजित गरिएको छ ।
आयोजनामा कुल ४ सय ६२ कल्भर्ट निर्माण गर्नुपर्ने छ । यस आयोजना अन्तर्गत साना–ठूला गरी कुल ६४ पुल निर्माण गर्नुपर्ने छ । यो आयोजनामा कुल १ सय १३ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने छ ।
आयोजनामा कुल १ सय ६ दशमलभ १७ किलोमिटर साइड ड्रेन निर्माण लक्ष्य छ । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा निर्माण गर्ने गरी आयोजनाको ठेक्का लागेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







