विनयी खोलाको डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध


  प्रकाशित मिति : २०८२ असार ५ गते, १२:५२

बाढीले दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि यहाँ दिनहुँजसो यातायात अवरोध भइरहेको छ। यस वर्षमात्रै यो डाइभर्सन सात पटकसम्म बाढीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले सुचना जारी गर्दै सकेसम्म अहिले यो सडकबाट यात्रा नगर्न पनि यात्रुहरुलाई अनुरोध गरेको छ। विगत केही दिनयता बाढीले विनयी खोलाको डाइभर्सनमा लगातार क्षति पुर्‍याउँदै आएको छ। त्यसैगरि दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखेलालगायत स्थानका सडक चिप्लो भई सवारी साधन सञ्चालन हुन नसक्ने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ। वर्षातको कारण नारायणगढ बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह बढ्न गई सवारी आवागमन भइरहेको डाइभर्सनमा क्षति पुगेको कारण तथा निरन्तर वर्षाका कारण दुम्किवास दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको व्यहोरा यात्रु महानुभावहरुलाई जानकारी गराउँदै सकेसम्म यो क्षेत्रबाट यात्रा नगरी अन्य रुटबाट यात्रा गर्न अनुरोध छ,’ प्रहरिले बिहीबार बिहान जारी गरेको सूचनामा भनिएको छ। प्रहरीले विनयी खोला र दाउन्नेमा रोकिएका सवारी साधन सञ्चालनको लागि वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। पूर्ववाट पश्चिम जाने ठूला सवारी साधन नारायणघाट–मुग्लिन–पोखरा–स्याङ्जा हुँदै बुटबल निस्कन सक्ने प्रहरीको भनाई छ। त्यसैगरि पश्चिमबाट पूर्व जाने ठूला सवारी साधनहरु बुटबल–स्याङ्जा–पोखरा–मुग्लिन हुँदै गन्तव्यमा जान सक्ने छन्। साना सवारी साधनको हकमा भने बाटोको अवस्था बुझेर कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट, पिपलडाँडा सडक खण्ड भएर यात्रा गर्न सकिने सूचनामा उल्लेख छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।