जेठ ११,नेपाल विद्युत् प्राधिकरणले विश्वसनीय विद्युत् आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरूको जानकारी लिने तथा समस्याको पहिचान गर्ने अभियानको थालनी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए । बिहीबार कोशी प्रदेशको विराटनगरमा त्यहाँका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गर्ने, त्यहाँ वरिपरिका सव–स्टेशन र वितरण केन्द्रको अनुगमन गर्ने जस्ता काममा मध्यरातसम्म आफू व्यस्त रहेको जानकारी शाक्यले दिए ।
आर्थिक वर्ष २०८१ मा उच्चतम विद्युत् खपत र नियमित महसुल भुक्तानीको आधारमा कोशी प्रादेशिक कार्यालय अन्तर्गतका उत्कृष्ट दश अत्यन्त महत्वपूर्ण उपभोक्तालाई सम्मान गर्ने कार्यक्रमका लागि विराटनगरमा आयोजित कार्यक्रममा पुगेका शाक्यले उक्त कार्यक्रमसँगै सरोकारवालाहरूसँग छलफल गरेका थिए ।
शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यस्ता हल्लालाई निराधार बनाउन पनि आफू अभियानकै रूपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान खोज्ने गरी निस्किएको जानकारी दिए ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







