बैशाख २४, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि प्रदर्शन गरेका छन् ।
नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा निर्माण भएको विमानस्थल २०७९ जेठ २ गते उदघाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिए ।
नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्षले चेतावनी दिँदै भने, ‘आजको धर्ना त केवल संकेत मात्र हो, माग सम्बोधन भएन भने निर्णायक आन्दोलन हुनेछ ।’ यसैगरी चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्षले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने खाँचो रहेको बताए ।
व्यावसायिक संघ–संस्थाहरूले प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउनुका साथै सडक प्रदर्शन गरे पनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन ।
यसैगरी सबै एयरलाइन्सको टिकट काउन्टर विमानस्थलमै हुनुपर्ने, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट प्रणाली लागु गर्नुपर्ने र बुद्धमार्गी देशहरूबाट सिधा उडानको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् । उडान मात्र होइन नभइ भ्रष्टाचारबारे छानबिन पनि हुनुपर्ने व्यवसायिको माग छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







