सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने:पोखरा–मुग्लिङ राजमार्ग


  प्रकाशित मिति : २०८२ बैशाख २२ गते, १२:०७

बैशाख २२,निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गको पश्चिम खण्डको सडक मापदण्डभित्र परेका विद्युत् पोल एक साताभित्र हटाइने भएको छ । राजमार्गको पश्चिम खण्डमा चार सय २४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र तीन सय ५५ छन् ।

विद्युत् प्राधिकरणको पोखरा तथा लेखनाथ वितरण क्षेत्रभित्र यी पोल परेका हुन् । राजमार्ग स्तरोन्नतिका क्रममा सडकभित्र परेका विद्युत् पोल हटाउन ढिलाइ हुँदा योजनाको काम प्रभावित भएको छ । विद्युत् पोलका कारणले काम प्रभावित भएपछि आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा भएको सहजीकरण बैठकमा एक साताभित्रमा विद्युत् प्राधिकरणले पोल हटाउने सहमति भएको मुग्लिङ–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुखले बताए । उनका अनुसार विद्युत् पोलका कारणले योजनाको काममा असर परेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत यसका बारेमा चासो व्यक्त गरिएको र समाधानका लागि सहजीकरण भएको छ ।

“चार लेन सडकभित्र परेका पोल प्राधिकरणले हटाउँदै गइरहेको छ । अब बाँकी रहेका पोलसमेत एक साताभित्रमा विस्थापित गरिसक्ने सहमति भएको छ । यसबाट काममा देखिएको प्रमुख समस्या समाधान हुनेछ ,” योजना प्रमुखले भने । योजनाका अनुसार कास्की खण्डस्थित चार लेन सडकभित्र पर्ने सैनिकबस्ती–विश्वविद्यालय १८ र आदर्शचोक–तालचोकका ४९ गरी ६७ पोलका कारण यस क्षेत्रमा काम अघि बढाउन समस्या भएको छ । यसैगरी डाँडाको नाकदेखि विजयपुरसम्म ९० वटा पोल नालीमा परेका छन् । मुग्लिङ–पोखरा सडकको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म ४१ किमी रहेको छ । यस खण्डमा हालसम्म एकतर्फी ३५ किमी सात सय मिटरमा प्रथम तहको कालोपत्रे गर्ने कार्य सकिएको बताइन्छ । हालसम्म ५० दशमलव ३४ प्रतिशत भौतिक प्रगति भएको योजना कार्यालयले जनाएको छ ।

“१९ किमी खण्डमा दुईतर्फी कालोपत्रे९चार लेन० तथा १६ किमी खण्डमा एकतर्फी कालोपत्रे९दुई लेन० को काम सकिएको छ । आगामी असार मसान्तसम्ममा सम्पूर्ण खण्डमा चार लेन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण व्यवसायी मोविलाइज गरिएको छ,” योजना प्रमुखले भने । मुग्लिङ–पोखरा सडकको पश्चिम खण्डको म्याद गत वर्ष नै सकिएपछि एक वर्ष थप गरिएको थियो । थप गरिएको समय आगामी पुस दोस्रो सातासम्म रहेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।