स्तरोन्नतिका लागि सडक भत्काएर छाड्ने प्रवृत्ति बढ्दा सर्वसाधारणले सास्ती बेहोर्न परेको छ । तानसेन–हार्थोक–छहरा सडक, बाँसटारी–झडेवा सडक र आर्यभन्ज्याङ–रामपुर सडकखण्डको ओटासिल प्रविधिबाट बनाइएको सडक उप्काएर त्यसै छाडिएको छ ।
सडक स्तरोन्नति गर्ने नाममा कालोपत्रे सडक भत्काउँदा हिउँदमा धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । चार वर्षअघि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तानसेन–हार्थोक–छहरा सडक स्तरोन्नति गर्न १० किलोमिटर सडक चौडा गरिएको थियो । उक्त सडकखण्ड अहिले हिँड्नै नसक्ने गरी नाजुक बनेको छ ।
सडक विस्तार गर्ने नाममा तीन मिटर चौडामा लगाइएको कालोपत्रे भत्काएर सडकको अवस्था झन् नाजुक बनेको रैनादेवी छहरा–४ का शङ्कर रायमाझीले गुनासो गर्नुभयो । सडक बनाउन भएको कालोपत्रे भत्काएर त्यसै छाड्दा पाल्पाको पश्चिम भेग, गुल्मी र अर्घाखाँची जाने यात्रुले सास्ती बेहोर्न बाध्य भएको उहाँले सुनाउनुभयो ।
उक्त सडक निर्माणका लागि बजेट परेको प्रचार भए पनि चार वर्षसम्म काम हुन नसकेको स्थानीयको गुनासो छ । यो सडकखण्डलाई लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा राखेको छ । प्रदेश सरकारले गौरवको आयोजना अन्तर्गत रामपुर–कपुरकोट सडकखण्डका लागि बजेट विनियोजन गरे पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







