नेपाल एयरलाइन्सको सधै एउटै समस्या : दुई न्यारोबडी र ट्विनअटर जहाज ग्राउन्डेड, यात्रु अलपत्र


  प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते, १०:३९

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सका दुईवटै न्यारोबडी जहाज फेरि ग्राउन्डेड भएका छन् । जसकारण न्यारोबडीले सेवा दिइरहेका दिल्ली, मुम्बई, बेंग्लोर, थाइल्यान्ड, हङकङ, मलेसियालगायतको उडान प्रभावित भएको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार शनिबार साउदीको दमाम विमानस्थलमा अवतरण भएको ‘९एन–एकेएक्स’ जहाजको नोज ल्यान्डिङ गियर बिग्रिएको थियो । त्यसपछि मर्मतका लागि सो जहाज दमाममै ग्राउन्डेड गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । ‘जहाज चेकजाँचका क्रममा नोज ल्यान्डिङ गियरमा हाइड्रोलिक लिक भएको भेटियो । त्यसैले मर्मतका लागि दमाममै जहाज राखिएको छ,’ उहाँले बताउनुभयो ।

सो जहाज अचानक ग्राउन्डेड हुँदा दमाम–काठमाडौंका लागि टिकट लिएका यात्रु भने अलपत्र परेका छन् । प्रवक्ता पौडेलले तत्काल जहाज बनाएर यात्रु ल्याउने योजना रहेको बताए । जहाज तत्काल मर्मत नभए अन्य जहाजमार्फत यात्रुहरूलाई काठमाडौं ल्याइनेछ ।अर्को न्यारोबडी ‘९एन–एकेडब्लू’ जहाज सम्पूर्ण मर्मत (सि–चेक)का लागि करिब दुई महिनादेखि चीनमा छ । २० पुसदेखि ग्राउन्डेड भएको जहाजको मर्मत कार्य चलिरहेको निगमले जनाएको छ ।

नियमित मर्मत अभावमा निगमका जहाज ग्राउन्डेड भइरहने पुरानै रोग हो । अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला र दुई साना जहाजबाट सेवा दिइरहेको निगमले मर्मतमा ध्यान नदिँदा जहाज पटक–पटक ग्राउन्डेड भएर सेवा र आम्दानीमा असर परिरहेको छ ।

ग्राउन्डेड भएका जहाज मर्मत गर्न बेवास्ता गर्ने भएकाले ढिलो गरी उडान सेवामा फर्कने गरेका छन् । तर, यसपटक ग्राउन्डेड भएका दुवै न्यारोबडीलाई छिटो मर्मत सकेर नियमित उडानमा ल्याउने निगमले दाबी गरेको छ ।

तुम्लिङटार, दाङ, रेसुंगा, रुकुम पश्चिमलगायत दुर्गमका जनतालाई सेवा दिने गरी आन्तरिक उडान गर्दै आएका निगमका दुईवटै ट्विनअटर जहाज ग्राउन्डेड छन् । जसकारण आन्तरिक उडान ठप्प छ । समयमै इन्जिन व्यवस्थापन गर्न नसक्दा ट्विनअटर ९एन–एबिटी २३ जेठदेखि र ९एन–एबियू ७ पुसदेखि ग्राउन्डेड भएर बसेका छन् । इन्जिन फेरेर दुवै जहाजलाई नियमित उडानमा फर्काउन निगम व्यवस्थापनले पनि चासो दिएको छैन ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।