सुदूरपश्चिममा सडक दुर्घटना बढ्दो, चार महिनामा ५९ जनाको मृत्यु


  प्रकाशित मिति : २०८१ मंसिर २ गते, ९:४२

सुदूरपश्चिम प्रदेशमा गएको चार महिनाको अवधिमा १३३ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका ११४ जना उपचाररत छन् । सुदूरपश्चिम प्रदेशमा २०८१ साउनमा तीन वटा बस, भदौमा दुई, असोजमा पाँच, कात्तिकमा तीन गरेर चार महिनामा १३ वटा बस दुर्घटना भएका छन् । यही अवधिमा माइक्रो पाँच वटा र आठ वटा बोलेरो जिपसमेत दुर्घटना भएका छन् । 

शुक्रबार बिहान ४ बजे दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भयो । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्र्घटना भएको जिपमा दार्चुलास्थित मालिकार्जुन मेलाको दर्शन गरेर घर फर्किंदै गरेका यात्रु सवार थिए । 

गएको असोज ३० गते डडेलधुरा बस दुर्घनामा बैतडी पुर्चौका एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । दसैँलगत्तै कञ्चनपुरबाट बैतडी आउँदै गरेको बस डडेलधुरामा दुर्घटना भएको थियो ।  

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दसैँका बेला गएको असोज महिनामा ५१ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये ३६ जना गम्भीर छन् । तिहारका बेला कात्तिक महिनामा ३४ वटा सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका  छन् । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर भएको तथ्याङ्कमा उल्लेख छ । 

दुर्घटना हुने सवारीसाधनको प्रकृति अनुसार मोटरसाइकलपछि बढी दुर्घटना हुने सवारीसाधनमा बस, जिप, टेम्पो र माइक्रो रहेका छन् । सवारी दुर्घटनामा बर्सेनि ठुलो मानवीय क्षति भए पनि घटनाको गम्भीर छानबिन हुने गरेको छैन । मृतकको ठेगाना भएका केही स्थानीय तहले शोक बिदाबाहेक सडक सुरक्षाका उपायकाबारेमा चासो दिएको पाइँदैन ।

 नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला र बझाङलगायतका पहाडी जिल्लाको सडक सुरक्षामा वार्षिक आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेको छ । तराईका जिल्ला र लामो दुरी काठमाडौँ चल्ने सवारीसाधन पुरानो भएपछि पहाडी जिल्लामा चल्ने गरेको पाइएको छ । 

दार्चला, बैतडी र बझाङका सडक सुधारमा ४० करोड रुपियाँ खर्च गरेर मोड सुधार गरेको तीन जिल्लाको सडक हेर्दै आइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इन्जिनियर लक्ष्मीदत्त जोशीले बताउनुभयो । उहाँले पहाडी जिल्ला जोड्ने मुख्य लोकमार्गमा मोड सुधार गरी सडक किनारमा प्यारापिट पर्खाल लगाउने काम सम्पन्न भएपछि सडकको भौतिक अवस्था ९० प्रतिशत सुधार भएको दाबी गर्नुभयो । 

सरकारले सडक सुधारमा वार्षिक आठ करोड रुपियाँ खर्च गर्दै आए पनि पहाडी रुटमा चल्ने सवारीसाधनको अवस्था परीक्षण हुने गरेको छैन ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।