ट्राफिक नियम उल्लंघन गरे अब डिजिटल चिट


  प्रकाशित मिति : २०८१ कार्तिक ४ गते, ६:२५

सवारी चालकले ट्राफिक नियम उल्लंघन गर्दा कागजी रूपमा दिइने चिटको साटो अब प्रहरीले डिजिटल चिट काट्ने भएको छ । नागरिक एपमा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) आबद्ध गरिएपछि सर्वसाधारणले सवारी चालक अनुमतिपत्रको साटो एपभित्रकै भर्चुअल लाइसेन्स देखाए पुग्ने भएको छ ।

आइतबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतले ई(चलान (डिजिटल चिट) प्रणालीको औपचारिक सुरुवात भएको घोषणा गर्नुभएको छ । सवारी चालकले ठाउँका ठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आएको हो ।
ई-चलान डिजिटल चिटले प्रविधिमैत्री सेवा प्रवाहमा भूमिका खेल्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

हाल ट्राफिक कारबाहीमा परेका चालकहरूको कागजपत्र लिने गरिकामा अबदेखि प्रहरीले चालकको नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सभित्रको क्युआर कोड स्क्यान गरी सम्पूर्ण विवरण टीभीआरएसमा अद्याविधिक हुने प्रणाली विकास गरिएको हो । यससँगै जरिवाना तिर्न र कागजपत्र लिन ट्राफिक कार्यालय धाइरहनुपर्ने बाध्यता नहुने बोहराले बताउनुभयो ।

कार्यक्रममा यातायातमन्त्री दाहालले ड्राइभिङ लाइसेन्स, नागरिक एप र राष्ट्रिय परिचयपत्रलाई आपसमा जोडिने र त्यसले लाइन्स लिन कार्यालयमा उपस्थित हुनुपर्ने झन्झटसमेत अन्त्य गर्ने बताउनुभयो । त्यस्तै गृहमन्त्री लेखकले सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी र जटिलतारहित सेवा प्रदान गर्न सबै प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउँदै लगिने भनाइ राख्नुभयो ।

ट्राफिक प्रहरीको काम(कारबाहीलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै परिष्कृत सेवा प्रवाह गर्न टीभीआरसँगै अनलाइन भुक्तानी, ट्राफिक कम्युनिकेसन एप, अटोमेटिक नम्बर प्लेट रिकग्निसन क्यामरा जडान जस्ता कार्यहरूको सुरुवात गरिएको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बताउनुभयो । ‘हाल विद्यमान २४ घण्टे पुर्जी जारी गर्ने प्रणालीलाई ई(चलानको प्रयोग गरी ट्राफिक कारबारहीलाई प्रविधिमैत्री बनाउन सहयोगी हुनेछ,’ उहाँले भन्नुभयो, ‘यसले हामीले अंगीकार गरेको आन्तरिक शुद्धीकरण र पारदर्शितामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।