सूर्यविनायक–धुलिखेल सडकखण्ड : डेढ वर्ष बित्यो प्रगति २६ प्रतिशत मात्रै


  प्रकाशित मिति : २०८१ कार्तिक २ गते, ११:२५


सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सकिने सम्भावना न्यून बन्दै गएको छ । नेपाल सरकारको लगानीमा निर्माण भइरहेको अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १५.५ किलोमिटर सडक छ लेन विस्तार गर्ने काम सुस्ताएपछि काम समयमै सकिने सम्भावना कम देखिएको हो । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि लक्ष्य अनुसार काम हुन सकेको छैन । सडक विस्तार सुरु भएको डेढ वर्ष बितिसक्दा २६ प्रतिशत मात्रै प्रगति भएको छ ।


वि.सं २०७९ पुस २४ गते दुई खण्डमा बाँडेर तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । सडक आयोजनाका प्रवक्ता इन्जिनियर सजना अधिकारीले आयोजनाको भौतिक प्रगति २६ प्रतिशत र वित्तीय प्रगति ३२ प्रतिशत रहेको जानकारी दिनुभयो । आयोजनाले हालसम्म निर्माण कम्पनीलाई दुई अर्ब ६३ करोड रुपियाँ भुक्तानी गरिसकेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५.५ किमी सडक निर्माणको चरणमा भए पनि भौतिक प्रगति कम हुँदा समयमै काम सम्पन्न हुने सम्भावना कम देखिएको स्थानीयले गुनासो गरेका छन ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।