पेट्रोलियम पदार्थमा इथानोल मिसाएर एक महिनाभित्र  मूल्य तोक्छौँ : मन्त्री भण्डारी


  प्रकाशित मिति : २०८१ भदौ २४ गते, १२:४१

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीति धेरै अघि बढिसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको वृहत् बहस’ कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको दाबी गरेका हुन् ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एक महिनाभित्र टुङ्ग्याउँछौँ’ मन्त्री भण्डारीले भने ।

इथानोल उत्पादनले दैनिक २ लाख किलोमिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेको उनले बताए । इथानोल मिश्रणका कामलाई अघि बढ्न आयल निगमलाई सरकारले आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको उनले बताए ।

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए । पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भ पछिल्लो समय चर्चामा छ ।

२०६० सालमा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै नेपाल आयल निगमले आवश्यक तयारीका साथै उत्पादनमा जाने प्रतिबद्धता जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।