करिडोरको ‘ट्र्याक’ नै बगाएपछि पुल बनाइँदै


  प्रकाशित मिति : २०८१ भदौ ११ गते, १:१९

तीन वर्षअघि देखि लगातार पहिरो खस्दा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट पटक–पटक टुट्दै आएको छ । बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले तीन स्थानको सडकको ‘ट्र्याक’ बगाएपछि हिउँदमा जसोतसो चल्ने सवारी साधन बर्खामा चल्न सक्दैनन् ।

विसं २०७८ देखि खस्न थालेको पहिरो प्रत्येक वर्ष बढ्दै गएपछि बर्खामा सडक सम्पर्क टुट्दै आएको छ । विकल्पका रुपमा कालीगण्डकी नदीमा पक्की पुल निर्माण गर्न सर्वेक्षण थालिएको छ । उक्त पुलले लोकमार्गलाई कालीगण्डकी करिडोरसँग जोड्ने छ । पहिरोले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ–बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पुल बनाउन थालिएको हो । 

गलुवास्थित दब्ल्याङको पहिरो बर्सेनि बढ्दा यस वर्ष कालीगण्डकी करिडोरको समेत ट्र्याक नै बगाएको छ । सडक बगाएपछि त्यसको  विकल्पका रुपमा  मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट नै व्यवस्था गरेको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारले गरेको पहिरोको अध्ययनमा कमजोर जमिनमा बनाइएको सडकमा पानीको भल तर्काउन नसक्दा पहिरो गइरहेको हुँदा रोकथामका लागि रु १८ करोड खर्च लाग्ने डिपिआर तयार भए पनि काम अगाडि बढ्न नसक्दा पुल निर्माण गर्न थालिएको प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बताउनुभयो । पर्वतकोे सहस्रधाराबाट सोझै करिडोर जोड्न पक्की पुल निर्माण गर्नका लागि सर्वेक्षणको काम सुरु भएको सुवेदीको भनाइ छ । 

प्रदेश सरकारले पुल निर्माणका लागि रु २५ करोड लागत अनुमान गरी चालु वर्षका लागि रु पाँच करोड विनियोजन गरेको छ । पुल निर्माण यसै वर्षबाट थाल्ने बजेटमा उल्लेख गरेपछि पूर्वाधार विकास निर्देशनालय प्रदेशका निर्देशक डा महेन्द्र बानियाँ, प्रशासन प्रमुख भरत भुषाल, स्थानीय सडक तथा पुल कार्यक्रमका ‘टिम लिडर’ इन्जिनियर अस्मित पोख्रेल लगायतले पुल निर्माण गर्ने स्थानको अध्ययन गरिएको सुवेदीले जानकारी दिनुभयो ।
पहिरोको विकल्पका रुपमा निर्माण गर्न लागिएको पक्की पुल पर्वतको मध्यपहाडी लोकमार्गको सहस्रधाराबाट सोझै कालीगण्डकी नदीमाथिबाट करिडोरमा पुग्नेगरी निर्माण गरिने पाठकको भनाइ छ । माटोको सामान्य अध्ययन नगरी सडक निर्माण गर्दा राज्यको ठूलो रकम नोक्सानी तथा जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पक्की पुल बनाउन थालिएको हो । पटक–पटक अवरुद्ध सडक खुलाउनमात्रै बागलुङ नगरपालिकाले लाखौं रकम खर्च गरिसकेको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । 

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।