भासियो पुर्चाैडी जोड्ने सडक, यातायात सेवा बन्द


  प्रकाशित मिति : २०८१ साउन ३० गते, ७:३९

बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चार दिनदेखि अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो जाने र भासिने समस्याले सडक अवरुद्ध भएको हो ।

शनिबार रातिदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको स्थानीय पुरनसिंह ऐरले बताउनुभयो । यसका साथै ठण्डा पानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ ।

सडक अवरुद्ध चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरू ढोल्यामोडबाट पैदल हिँड्न बाध्य छन् भने सबैभन्दा बढी समस्या बिरामीलाई भएको छ । यसका साथै यहाँको पुर्चौडी क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताएका छन् ।

ढोल्यामोड–हाट सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिराको जोखिम बढी देखिएको छ । यसैबीच सडक सञ्चालन गर्न प्रयास गरे पनि खुलाउन समस्या भएको पुर्चौडी नगरपालिकाले जनाएको छ ।

सडक खुलाउन दुई वटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चौडी नगरपालिकाका इञ्जिनियर अनिलसिंह बोहराले बताउनुभयो । उहाँले पहिरो पन्छाउने काम भए पनि सडक भासिएको ठाउँमा सदस्य रहेको जानकारी दिनुभयो । तत्काल सडक सञ्चालन हुन नसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।