चितवनको भरतपुर महानगरपालिका– २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी छ ।
शुक्रवार पनि बिहानैदेखि खोजी जारी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताउनुभयो ।
गत असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुई बसमा सवार ६५ यात्रुमध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।
जसमध्ये २० जनाको शव फेला परेकोमा १४ को सनाखत भएको सहायक प्रजिअ भुसालले बताउनुभयो । बस र यात्रुको खोजीका लागि करिब एक सातादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
खोजीका लागि विभिन्न आधुनिक प्रविधिसहितको गोताखोर टोली पनि खटेको छ ।
यसैबीच सरकारले घटनाको अनुसन्धान गर्न अध्ययन समिति गठन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको उक्त समितिले घटनास्थलको स्थलगत अध्ययन गरिसकेको छ ।
मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।
धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालले भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको यसअघि जानकारी दिएका थिए । तर साे टोली आए–नआएकोबारे आफूलाई आधिकारिक रुपमा जानकारी नभएको चितवनका सहायक प्रजिअ भुसालले बताउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







