चितवनमा रेलमार्ग सर्भे गर्न पुगेका प्राविधिकहरू सम्मिलित टोलीको गाडी स्थानीयबासीले जलाइदिएका छन्।
बुधबार दिउँसो भरतपुर महानगरपालिका(७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीकै अगाडि जलाइदिएका हुन् ।
गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले गुगल म्याप सर्भे गर्न आएको टोलीलाई आफूहरूले रोक्न खोजेको बताउनुभयो ।
सचिव नेपालका अनुसार टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । बुधबार वडा नं। ७ मा सर्भे गर्दागर्दै भेला भएका करिब २ सय स्थानीयले प्राविधिकहरूलाई नियन्त्रणमा लिएका थिए ।
पूर्व पश्चिम रेलमार्ग भरतपुरका घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको स्थानीयको आरोप छ । त्यसपछि उनीहरू चरणबद्ध आन्दोलमा छन् । बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने बताउँदै उनीहरूले अहिलेको सर्भे नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिका ४, ७ र ८ हुँदै नवलपरासीतर्फ लाने योजना छ । यसअघि भरतपुर महानगरपालिकाको पहलमा संघर्ष समिति र रेल विभाग तथा सरकारी निकायबीच छलफल भएको थियो ।
छलफलमा रेलमार्गको सर्भे रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर, पुरानै क्षेत्रमा सर्भे थालिएपछि स्थानीय आक्रोशित छन् ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







