यातायात बुलेटिन • १ साउन २०८१


  प्रकाशित मिति : २०८१ साउन १ गते, ८:०८

१.
सिमलताल दुर्घटनाका १५ शव भेटिए, भारतीय क्षेत्रसम्म खोजी गरिदै
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता बस र यात्रुको खोजीका क्रममा मंगलबारसम्म १५ वटा शव भेटिएका छन् । अझै कम्तीमा पनि ४७ जना यात्रुको अवस्था अज्ञात रहेपछि खोजीलाई तीव्र पारिएको छ । भरतपुर महागनरपालिका २९, सिमलतालस्थित सडकबाट २ वटा बस पहिरोसँगै त्रिशूलीमा खसेको आज ५ दिन भइसकेको छ । गत शुक्रबार बिहान ३ बजे दुई वटा बस त्रिशूलीमा खसेपछि अहिलेसम्म अवस्था खुल्न सकेको छैन । तर उक्त बसमा रहेकामध्ये १५ यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर तल नारायणी किनारमा भेटिएका छन् ।अन्य शवलाई पनि नारायणीले उतार्ने अनुमानसहित खोजीका लागि सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ ।

सीमा क्षेत्रनजिक नारायणी नदीमा शव भेटिएपछि बगाएर भारत लान सक्ने आंकलनका आधारमा त्यतातर्फका जिल्लामा समन्वय गरी खोजी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । उहाँका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका डिएमसँग समन्वय गरिएको छ । यादवले आफूले पश्चिम चम्पारण र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारीले महाराजगञ्जका डिएमसँग समन्वय गरिरहेको बताउनु भयो । साथै नदीमा शव भेटिएमा जानकारी दिन दुवै डिएमलाई आग्रह गरिएको यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म शव भेटिएको कुनै जानकारी आएको छैन । गण्डक ब्यारेजसम्म शव पुगेपछि त्यहाँबाट पारीसमेत जान सक्ने भएकाले समन्वय गरिएको उहाँले बताउनुभयो । सीमा जोडिएका जिल्लासँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई अधिकार भए पनि पत्राचार गर्नुपरेमा परराष्ट्र मन्त्रालयमार्फत जानुपर्ने भएकाले तत्कालका लागि मौखिक कुरा गरिरहेको उहाँले बताउनुभयो ।

त्रिशूली नदी नारायणीमा मिसिएर त्रिवेणी हुँदै भारततर्फ बगेको छ । नदीमा बाढी आइरहेकाले शव भारत पुग्न सक्ने अनुमान गरिएको हो । यही असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

उक्त बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए । बाँकी ६२ जना बेपत्ता थिए । मंगलबारसम्म १५ जनाको शव फेला परेको छ । घटनाबारे अध्ययन गर्न गृहमन्त्रालयले सोमबार गठन गरेको कार्यदलले बुधबार स्थलगत रुपमा अध्ययन सिमलताल जाने भएको छ ।

२.
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु भएको छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।

३.
नगर बस सेवा सञ्चालन गर्दै धनगढी उपमहानगर
धनगढी उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको छ । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको हो ।

बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले मंगलबार ठेक्का समेत आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिका कार्यालयले १० वर्षसम्मका लागि बस सेवा सञ्चालनका लागि ठेक्का लगाइने उल्लेख गरेको छ ।
जारी सूचनामा मूल्य अभिवृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । जारी सूचनाअनुसार उपमहानगरपालिकाले १० वर्षका लागि बस सेवा सञ्चालनको ठेक्का लगाउनेछ ।

प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।
पहिलो किस्ताको रकम सम्झौता गरेको दिन अग्रिम बुझाउनुपर्ने, बाँकी दुई किस्ता मंसिर र चैतभित्र बुझाउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ । बसको मर्मत सम्भार, इन्धन, चालक, सहचालक लगायतको खर्च ठेक्का लिने पक्षले तिर्नुपर्ने, तोकिएको स्थान वा रुटबाहेक सञ्चालन गर्न नपाइने जारी सूचनामा उल्लेख गरिएको छ ।

४.
‘कण्डक्टर’ले बस चलाउँदा
झापाको कनकाई नगरपालिका–२ स्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोलपम्प नजिक पूर्वपश्चिम राजमार्गमा विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को१९प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले प्रहरी समक्ष बयान दिएका छन् ।

५.
टिकट काउन्टर नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनको आग्रह
काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरलाई यातायात मजदुर संगठनहरुले आग्रह गरेका छन् । साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै यातायात व्यवसायीलाई आतङ्कित बनाइएकोले सो कार्य नगर्न नेपाल यातायात मजदुर संघ, अखिल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघले महानगरलाई सो आग्रह गरेका हुन् ।

एकांकी र निरङ्कुश शैलीले समस्याको समाधान नहुने भन्दै सरोकारवालाहरुसंँगको छलफल र सहकार्यमा मात्रै अघि बढ्न महानगरलाई मजदुर नेताहरूको आग्रह छ । सोमबार तीनवटै संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि बसपार्क बाहिरका टिकट काउन्टर हटाइने निर्णयलाई रोक्दै महानगरको नेतृत्वमा बनेको कार्यदलको तत्काल बैठक राखेर समस्याको हल खोज्न महानगरलाई अपिल गरिएको छ ।

६.
रवि लामिछानेद्धारा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरीक्षण
निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिमलतालमा हराइरहेको बस र यात्रुको खोजी कार्यको निरीक्षण गर्नुभएको छ । मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्धार कार्यका बारेमा जानकारी लिनुभएको हो । सो क्रममा उद्धार कार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहे पनि साधन श्रोत भने अझै अपुग देखिएको सुरक्षा निकायले जानकारी गराउनु भयो ।

लामिछानेले सिमलतालको अवस्थाका बारेमा आफूले वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताउनुभयो । प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि कार्यविधि नै बनाएर विपतको तयारी गरेपछि सिमलताल घटना अप्रत्याशित रहेको उल्लेख गर्नुभयो । अन्य स्थानमा पूर्व तयारीका कारण यसपटक धनजनका क्षति कम भएको भन्दै पर्याप्त नभएको उहाँको भनाइ छ ।
चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १५ जनाको शव भेटिएको छ ।

असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं. र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।