त्रिशूलीमा खसेका दुईवटा बसमा ६५ जना यात्रु रहेको चितवन प्रशासन द्वारा जानकारी


  प्रकाशित मिति : २०८१ असार ३० गते, २:१५


चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान भएको बस दुर्घटनामा पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटा बसमा ६५ जना यात्रु सवार रहेको जिल्ला प्रशासन कार्यालयले चितवनले जानकारी दिएको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालका अनुसार त्रिशूलीमा हराइरहेको काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा टिकट काउन्टरको चलानमा २७ जनाको नाम रहेको र घटनापछि सम्पर्कमा आएका आफन्तले टिपाएको विवरणका आधारमा गणपतिमा थप ११ जना यात्रु सवार रहेको खुल्न आएको छ जसमा ३८ जना यात्रु रहेको र बसका तीन जना यात्रु भने सकुशल रहेका छन् ।

त्यस्तै वीरगन्जबाट काठमाण्डौका लागि छुटेको एन्जल बसको चलानमा २३ जना र आफन्त सम्पर्कमा आएर दिएको विवरणका आधारमा थप चार जना गरी जम्मा २७ जना यात्रु एन्जल बसमा सवार रहेको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिएका छन् ।दुवै बसमा रहेका यात्रुमध्ये तीन जना सकुशल रहेको र बाँकी ६२ मध्ये आज बिहानसम्म पाँच वटा शव फेला परेको छ । तीमध्ये तीनवटा शवको आफन्तले सनाखत गरेका छन् । अझै ५७ जनाको अवस्था अज्ञात रहेको छ । बस र बेपत्ता यात्रुको आज पनि सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेनाले खोजीकार्य जारी राखेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।