सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा टिकटको व्यवस्था


  प्रकाशित मिति : २०८१ असार २८ गते, ३:३४

       

काठमाडौँ–सरकारले काठमाडौँ बाट रातको समयमा छुट्ने र भित्रिने लामो वा छोटो दुरीका सार्वजनिक यातायताका सवारी साधनमा अनिवार्य रुपमा टिकटको व्यवस्था गर्ने निर्णय गरेको छ । यातायात व्यवसायीका प्रतिनिधि र सरोकारवाला निकायसँग आज गृह मन्त्रालयमा भएको छलफलमा यस्तो निर्णय गरिएको गृहसचिव एक नारायण अर्यालले जानकारी दिए ।
आज बिहान नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोले दुई वटा बस त्रिशूलीमा खसेर यात्रु बेपत्ता भएपछि मन्त्रालयले यातायात व्यवसायीका प्रतिनिधिसँग छलफलका लागि आव्हान गरेको थियो । विभिन्न समयमा यस्ता दुर्घटनाले ठूलो मात्रामा मानवीय क्षति हुने गरेको र तत्काल घटनाको यकिन विवरण प्राप्त गर्न नसकिएको हुनाले उक्त नियम लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यसका लागि मन्त्रालयले सुरक्षा निकायलाई कडाइका साथ चेकजाँच गर्न समेत अनुरोध गरेको छ र टिकट बिना यात्रा गराउने सार्वजनिक सवारी साधनलाई कडा कारवाही गर्न समेत चेतावनी दिएको छ ।
यस्तै सरकारले रात्रि बस सेवा सञ्चालनलाई व्यवस्थित बनाउन, यात्राका क्रममा बीच बाटोमा हुने कालोबजारीलाई अनुगमन गर्न समेत निर्देशन दिएको छ । विपतजन्य समयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । मौसम प्रतिकुल भएका विभिन्न जिल्लामा रेड एड्भाइजरी जारी गरि ३ दिनको मौसम पूर्वानुमान हेरेर सवारी साधन चलाउन पनि निर्णय गरेको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।