१७ असार, काठमाडौं । माडी गाउँपालिका-२ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानमा दुर्घटना हुँदा यात्रा गरिरहेका सात जनाको मृत्यु भएको छ ।
जीप सडकबाट करिब ४०० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पताल लगिसकेपछि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पुष्टि गरे ।
घटनालगत्तै घाइतेलाई उपचारका लागि लगिएको लिवाङ जिल्ला अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी रायमाझीले भने, ‘जीपमा यात्रा गरिरहेका १५ जनामध्ये सात जनाको मृत्यु भएको छ । चालक र सातजना यात्री घाइते छन् ।’
दुर्घटनामा घाइते भएकालाई उपचारका लागि भैरहवा रिफर गरिएको छ । सामान्य घाइते देखिए पनि भित्री चोट हुनसक्ने भएकाले जाँच गर्ने उपकरण भएको भैरहवा अस्पतालमा रिफर गरिएको अस्पताल स्रोतलाई उल्लेख गर्दै प्रजिअ रायमाझीले जानकारी दिए ।
उनका अनुसार जीप पहिरोका कारण बाटो बन्द भएको स्थानमा पुगेपछि रोकिएर ब्याक गर्न लाग्दा भिरबाट तल खसेको प्रारम्भिक जानकारी प्रहरीले प्राप्त गरेको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







