पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरकाे कति ?


  प्रकाशित मिति : २०८१ असार १६ गते, ९:१७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।

आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ । यस्तै तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।