वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच


  प्रकाशित मिति : २०८१ असार १ गते, ५:४४

सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको छ ।

‘स्वच्छ हावा, स्वस्थ जीवन’ भन्ने नाराका साथ महानगरले वायु प्रदूषण न्यूनीकरणका लागि नियमित घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिए । “हामीले नियमित घुम्ती सवारी प्रदूषण जाँच मङ्गलबारदेखि सुरु गरेका छौँ, जाँचका क्रममा मापदण्ड पूरा भएका सवारीमा स्टिकर टाँसिदिन्छौँ, नभएकालाई एक हप्ताभित्र मर्मत गरेर जाँचका लागि पत्र काटेर छोड्ने गरेका छौँ । हरेक दिन फरकफरक ठाउँमा जाँच गर्छौं, आज जावलाखेलमा भयो, भोलि अर्को ठाउँमा हुन्छ”, उनले भने।

महानगरले स्वच्छता र सरसफाइ कायम राख्न हरियाली प्रवर्द्धन, पार्क तथा पोखरी निर्माणका लागि जोड दिँदै आएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनसङ्ख्यासँगै बढेको सवारीसाधनको सङ्ख्या बढे पनि मर्मतसम्भारमा पर्याप्त ध्यान नदिने, इन्धनमा देखिने कैफियत जस्ता कारणले सवारीसाधनबाट हुने प्रदूषणको मात्रा बढिरहेकाले अभियान सञ्चालन गरिएको हाछेँथुले जानकारी दिए। नेपाल सरकारको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा १ मा सवारीबाट हुने प्रदूषणको मापदण्ड कायम गरिएको छ । सोही मापदण्डअनुसार नभइ बढी धुवाँ फ्याँकेर वायू प्रदूषण गर्ने सवारीसाधनलाई दफा १६० को उपदफा ३ अनुसार सजाय हुने व्यवस्था छ ।

वायु प्रदूषणका कारण विश्वभर एक वर्षमा ७० लाख, नेपालमा ४२ हजार एक सय र काठमाडौँ उपत्यकामा मात्र पाँच हजार ८० जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।