अविरल वर्षाको कारण सिन्धुलीका विभिन्न सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार बीपी राजमार्ग, मदन भन्डारी राजमार्ग र मध्य पहाडी लोकमार्गको विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको छ ।बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी-१ गजुली दहमा सडकको माथीबाट ढुङ्गा, माटोसहितको पहिरो आई सडक अवरोध भएको छ । त्यस्तै सुनकोशी-१ नेपालथोक-घ्याम्पे खोला खण्डमा रोशी खोलाले २५० मिटर सडक कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।त्यस्तै सुनकोशी ६ कानढुङग्रे स्थित बीपी राजमार्गमा माथिबाट ढुङ्गा सहितको पहिरो आई सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा एकतर्फी सडक खुलेपनि जोखिमपूर्ण रहेको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल-६ नागस्थानमा ढुंगा,माटो र लेदोसहितको पहिरो आई राजमार्ग दुईतर्फी नै बन्द भएको छ । पूर्व–पश्चिम निर्माणाधीन एसियन हाइवे अन्तर्गत झापाको माइधार–दुधे सडकखण्ड अवरुद्ध भएको छ । भालुखोलाको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन अवरुद्ध भएको हो । काठमाडौं–हेटौंडा आउजाउ गर्ने चारवटा बाटाहरुमध्ये एउटा सडकमात्र खुला रहेको प्रहरीले जनाएको छ । फर्पिङ–फाखेल–कुलेखानी खण्ड मात्र खुला रहेको हो । तर यो बाटो पनि एकतर्फीमात्र चलिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







