इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा निर्मित बेलीब्रिज औपचारिक सञ्चालनमा 


  प्रकाशित मिति : २०८२ भदौ ४ गते, ४:१६

इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा निर्मित बेलीब्रिज औपचारिक सञ्चालनमा आएको छ। आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा बेलीब्रिज उद्घाटन गरेका हुन्। भारतीय सरकारको सहयोगमा निर्मित पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आउजाउ सहज भएको छ। उक्त पुल ४८ दशमलभ ८ मिटरको रहेको सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। १ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर–शुभारम्भ–एरिसा जेभीले सो पुल निर्माण गरेको हो। यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दूरीसमेत छोटो भएको छ। पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए। कार्यक्रममा संघीय सांसद महेश बस्नेत, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा। विजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, इलाम नगरपालिकाका प्रमुख केदार थापालगायत उपस्थित थिए। मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आजै पाँचथरको हेवाखोलामा जडान गरिएको मोडुलर ब्रिजको समेत उद्घाटन गर्ने कार्यतालिका छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।