कास्कीका ग्रामीण सडकमा राति गाडी नचलाउन निर्देशन


  प्रकाशित मिति : २०८२ असार २५ गते, १:१९

मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढ्ने देखेपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा सवारी साधन सञ्चालनका लागि समय निर्धारण गरेको छ । बुधबारदेखि लागू हुने गरी १५ दिनसम्मका समय तोकिएको हो । असार २३ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बर्सातको समयमा हुन सक्ने सम्भावित क्षतिबाट यात्रु तथा सवारी साधनलाई जोगाउन यस्तो निर्णय बुधबार जारी सूचनामा उल्लेख छ ।

अब अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूले तोकिएको समयमा मात्र यात्रा गर्न पाउनेछन् । बैठकले विरेठाँटीबाट घान्द्रुक, विरेठाँटीबाट उल्लेरी र लुम्लेबाट लान्द्रुक जाने सवारी साधनहरू साँझ ५ बजेभित्र छुटिसक्नुपर्नेछ । उता घान्द्रुक, उल्लेरी र लान्द्रुकबाट विरेठाँटी र लुम्लेतर्फ आउने सवारी साधनहरूले भने बिहान ५ बजेपछि मात्र यात्रा गर्न पाउनेछन् । यस्तै, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले साँझ साढे ४ बजेभित्र प्रस्थान विन्दु छाडिसक्नुपर्नेछ । ताङ्तिङबाट काहुँखोला फर्कने सवारी साधनहरूले बिहान ५ बजेपछि मात्र चल्न पाउनेछन् । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा सबैलाई तोकिएको समय-तालिका पालना गर्न आग्रह गरिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।