७२ सिट क्षमताको बुद्ध एयरको जहाजले गर्यो काठमाडौं–भरतपुर परीक्षण उडान


  प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते, ३:१६

जेठ ८,बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले आज बिहान काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । बिहान साढे ९ बजे भरतपुर विमानस्थलमा पहिलोपटक अवतरण गरेको बुद्ध एयरको ७२ सिटे जहाजले दुबै साइडबाट उडान र अवतरण गरेको थियो । 

दक्षिण पूर्वतर्फ रनवे १५ र पश्चिमतर्फ रनवे ३३ बाट उडान तथा अवतरणको परीक्षण गरिएको हो । बुद्धका पाइलटद्वय प्रमोद थापा र रवि श्रेष्ठले विमानको परीक्षण उडान गरेका थिए । क्याप्टेन थापाले परीक्षण उडानमा खासै समस्या नभएको बताए। विमानस्थलमा उडान तथा अवतरणमा असहज र जोखिम नभएको उनले बताए उनले विगत २७ वर्षदेखि बुद्धमा कामगर्दै आएका छन् । 

परीक्षण उडानका रिपोर्टहरु बुझाउने तयारी सुरु गरिसकिएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले विमानको उडान अवतरणको निरीक्षण गरेका थिए । प्राधिकरणमा विमानहरुको रेगुलेसन तथा सुरक्षा सम्बन्धी विभागसमेत हेर्दै आएका कर्णले भरतपुरमा ७२ सिटको जहाज कसरी ल्याउन सकिन्छ भनेर परीक्षण उडान गरिएको बताए । 

उनले विमानको परीक्षणका क्रममा दुई चालकबीच भएको कुराकानी, भ्वाइस रेकर्ड, इन्जिनको अवस्था, ब्रेकिङ्ग एक्सन जस्ता विषयको अध्ययन फ्लाइट रेकर्डरका माध्यमबाट हेरेर रिपोर्ट तयार गरेपछि मात्रै उडान परीक्षण सफल भयो कि भएन भन्न सकिने बताए । लोड विमान परीक्षण हुनु र लोडसहित अवतरण गर्नु फरक विषय भएको भन्दै उनले सबै पक्षहरुको विश्लेषण गरिने बताए । उनले अबको एक वा डेढ महिनामा रिपोर्ट बुझाउने र एयरलाइन्सले चाहेमा दुई महिना भित्र नियमित उडान गर्न सक्ने बताए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।