हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ एकतर्फी खुल्यो


  प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते, ११:०३

जेठ ५,आज बिहानबाट अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ ।

भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ स्थित बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको थियो । मर्मतसम्भार पश्चात साना सवारीका लागि एकतर्फी सडक सञ्चालन गरिएको मकवानपुरका प्रहरीले जानकारी दिए । निर्माणाधीन पुलबाट कार, जिप, स्कारपियो र मोटरसाइकललाई एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।

ठूला सवारी साधनलाई भने डाइभर्सन बाटो निर्माण नहुञ्जेलसम्मका लागि आवतजावतमा रोक लगाइएको प्रहरीले जानकारी दिए । बगुवा खोलास्थित बागमती पुलको एक भाग गत असोजमा आएको बाढीले बगाएको थियो । पुलको मकवानपुरतर्फको भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेको छ । स्थायी सडक संरचना निर्माण नभएसम्म बगुवा खोलामा वर्षाको बेला सडक सञ्चालन नियमित हुने अवस्था देखिँदैन ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।