हेलम्बू क्षेत्रमा सिंचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने : ऊर्जामन्त्री खड्को


  प्रकाशित मिति : २०८२ बैशाख २९ गते, ४:१२

बैशाख २९,ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बू क्षेत्रमा सिंचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने घोषणा गरेका छन् ।

मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै मन्त्री खड्काले बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले काम गर्ने बताए । उनले मेलम्ची र हेलम्बू क्षेत्रमा सिंचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने घोषणा गरे । ‘बाढीपछिको हेलम्बू, मेलम्चीको पुनर्निर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौं,’ उनले भने ।

ऊर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिंचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार अघि बढाइनेछ,’ उनले भने ।  पहाड़ी क्षेत्रमा कृषिको उत्पादनलाई बढावा दिन सिंचाइ व्यवस्थापन एकदमै महत्वपूर्ण भएको उनको भनाइ थियो ।

‘यस क्षेत्रको सिंचाइमा हाम्रो मन्त्रालय सक्रिय छ र म व्यक्तिगत रूपमा यसमा सहयोग गर्न तयार छु,’ मन्त्री खड्काले भने । १ असार २०७८ मा आएको बाढीले मेलम्ची र हेलम्बू क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएरको थियो । हालसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । कांग्रेस नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा ऊर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिंचाइसचिव सरीता दवाडी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सञ्जीव बराल लगायतको टोलीले सोमबार स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा स्थानीयले बाढीपहिरोले पुगेको क्षतिको पुनर्निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाए । उनीहरूले बाढीले पुर्‍याएरको क्षतिको पुनर्निर्माणमा स्थानीय तहको पर्याप्त स्रोत–साधन नहुँदा जनता मारमा परेको भन्दै चाँडो पुननिर्माण गरिदिन आग्रह गरेका छन् । सोही क्रममा मन्त्री खड्काले बाढी र पहिरोबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि पहल गरिने बताएका हुन् । ‘क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सरकारले प्राथमिकता दिनेछ, यसका लागि सम्बन्धित निकायसँग समन्वय गरेर चाँडो काम अघि बढाउनेछौं,’ उनले भने ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।