अन्तर्राष्ट्रिय उडानको माग गर्दै राप्रपालाई ज्ञापनपत्र : गौतमबुद्ध विमानस्थल

चेम्बर अफ कमर्स रुपन्देहीले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै लिङ्देनलाई बुझयो ज्ञापनपत्र


  प्रकाशित मिति : २०८२ बैशाख २८ गते, २:५९

बैशाख २८,गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पूर्ण क्षमतामा नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ज्ञापनपत्र बुझाएको छ।

पार्टी कार्यक्रममा भैरहवा आएका पार्टीका अध्यक्ष तथा पूर्वउप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई चेम्बरले ज्ञापनपत्र बुझाएको हो । विमानस्थललाई तत्काल पूर्ण र नियमित रुपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरुलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरुको शिघ्र समाधान गरिनुपर्ने माग ज्ञापनपत्रमा रहेका चेम्बरका अध्यक्षले बताए ।

त्यस्तै गौतमबुद्ध विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रुपमा विकास गर्ने राष्ट्रिय नीति तथा रणनीतिमा उच्च प्राथमिकता दिनुपर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्नुपर्ने, विमानस्थलमा व्यापार र निर्यात प्रवद्धनका लागि एयर कार्गो सेवा विस्तार गर्नुपर्ने तथा स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्नुपर्ने संगठनले माग गरेको छ ।

त्यसैगरी अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी विमानस्थलको पहिचान प्रवद्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने यात्रुहरुको लागि वन–स्टप सेवा केन्द्र (श्रम स्वीकृति, मेडिकल जाँच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, बीमा, इम्बार्केशन, काउन्सेलिङ आदि एकै स्थानबाट उपलब्ध हुने) स्थापना गर्नुपर्ने, वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने र विमानस्थलमा श्रमिक सहायता काउण्टर स्थापना गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख रहेको वरिष्ठ उपाध्यक्षले बताए । ज्ञापनपत्र बुझेपछि अध्यक्ष लिङदेनले आफ्नो पार्टी सरकारमा नभएपनि प्रतिनिधि सभामा यस विषयमा कुरा उठाउने प्रतिवद्धता जनाए । लिङदेनले उद्योगी व्यवसायीसंगको कार्यक्रममा गौतमबुद्ध विमानस्थलमा पोखरामा जस्तै नीतिगत भ्रष्टाचार भएको आंशका रहेकाले छानीन गरी दोषीलाई कारवाही गर्नुपर्ने र विमानस्थल चलाउनुपर्ने बताएका थिए ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।