बैशाख २६,पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका सातै प्रदेशमा हवाई उडान भर्ने गरी तयारी थालिएको छ । पोखरा महानगरपालिकाको अगुवाइमा यहाँबाट आन्तरिक हवाई सेवा विस्तार सम्बन्धी छलफल गरिएको हो ।
छलफलमा पर्यटन मन्त्री बद्री पाण्डे सहित पोखराका मेयर धनराज आचार्य, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्की लगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन् । सेवाको दिगोपनाका सम्बन्धमा आवश्यक सम्भाव्यताको अध्ययन गरी नियमित बाहेक निश्चित क्षेत्रहरूमा सेवा उपलब्ध गराउन तयार रहेको उनीहरूले प्रतिबद्धता जनाए ।

उनीहरुले पहिले भन्दा ग्राहक घट्दै गएकोमा चिन्ता व्यक्त गरे । सरकारले टिकटमा भ्याट लगाएर महँगो भएको छ भने फ्लाइटमा आकर्षण पनि घट्दो क्रममा रहेको उनीहरूको टिप्पणि छ । उनीहरुले विमानको सञ्चालन खर्च समेत ४३ प्रतिशतसम्म महँगिएको गुनासो राखे । एयरलाइन्स कम्पनीको व्यापार बढाउनका लागि पर्यटन बोर्डले गन्तव्य खोजी गरी प्रवर्द्धनको काम गर्ने पर्यटन बोर्डका पोखरा प्रमुख मणीराज लामिछानेले सुनाए ।
सेप्टेम्बर २७ मा पर्ने विश्व पर्यटन दिवसबाट फ्लाइट सुरु गर्ने तयारी भइरहेको बताइएको छ । यसबाहेक पोखराको पुरानो एयरपोर्टबाट समिट एयरले पनि डोल्पा वा रारामा उडान भर्ने गरी छलफल अघि बढाएको छ । कार्यक्रममा पोखराका मेयर आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकसँग आग्रह गरे ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







