बैशाख २५,काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ ।
पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएको बताए।
उनले काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको साथै पर्यटकलाई काठमाडौँबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुने विश्वास लिएको बताए । भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि योगदान दिने उनको भनाइ छ ।
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताए। ‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौँ’, उनले भने। टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताए।
भ्रमण टोलीमा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







