कर्णाली प्रदेश प्रहरी प्रमुख बिहिन


  प्रकाशित मिति : २०८२ बैशाख २२ गते, ४:५३

बैशाख २२,दुई महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुखमा गृहमन्त्रालयले अझै प्रहरी नायव उपरीक्षक (डीआईजी) पठाएको छैन । गृहमन्त्रालयले आइतबार सात जना डीआईजीको सरुवा गर्दा पनि दुई महिनादेखि रिक्त रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख भने अझै रिक्त रहेको छ ।

आइतबार ७ जनाको डीआईजीको सरुवा हुँदा कर्णाली बाहेक ६ प्रदेशका प्रहरी प्रमुख हेरफेर भए । तर कर्णाली प्रदेशमा भने गृहमन्त्रालयले कसैलाई पनि नपठाइ अहिलेसम्म रिक्त राखेको छ । कर्णाली प्रदेशका डीआईजी जनक भट्टराई २२ फागुनमा एआईजीमा बढुवा भएका थिए । एआईजी भएपछि प्रदेश समन्यव विभागमा पदस्थापन भएका उनको ४ चैतमा अवकाश समेत भएको थियो । तर उनी बढुवा भएसँगै रिक्त रहेको कर्णाली प्रदेशको डीआईजी अहिले पनि रिक्त छ ।

उनको बढुवासँगै विगत दुई महिनादेखि कर्णाली प्रदेशको कमाण्ड एसएसपी शिवकुमार श्रेष्ठले गरिरहेका छन् । यहीबीचमा गृहले आइतबार सात डीआईजीको सरुवा गर्दा पनि कर्णाली प्रदेश भने कसैको रोजाईमा परेन । आकर्षक मानिएका मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेशको कमान्डमा जान चर्को लबिइङ गरेका डीआईजीहरू कसैले पनि कर्णाली प्रदेश जान इच्छा देखाएका थिएनन् भने गृहले समेत कसैलाई पठाउन सकेन । जसकारण कर्णाली प्रदेश दुई महिनादेखि प्रमुखविहीन छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।