आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार देशमा रणनीतिक सडक सञ्जालको कुल लम्बाइ ३४ हजार २ सय ६७ किलोमिटर पुगेको छ । जसमध्ये १८ हजार २ सय ४१ किलोमिटर सडक कालोपत्र, ७ हजार ६ सय ९७ किलोमिटर ग्राभेल तथा ८ हजार ३ सय २६ किलोमिटर माटे सडक छ । समग्रमा स्थानीय सडक सञ्जालसमेत करिब १ लाख किलोमिटर निर्माण भएको छ ।
राष्ट्रिय नीति २०५८ अनुसार तत्कालीन समयमा १५ हजार ३ सय ८ किलोमिटर सडक निर्माण भएको थियो । जसमध्ये ४ हजार ५ सय २२ किलोमिटर सडक कालोपत्र भएको थियो भने ३ हजार ६ सय ४६ किलोमिटर ग्राभेल र ७ हजार १ सय ४१ किलोमिटर सडक माटे रहेका थिए । तत्कालीन ७५ जिल्लामध्ये ६० जिल्लामा सडक पहुँच पुगेको थियो ।
राष्ट्रिय यातायात नीति, २०५८ मा तत्कालीन सडक घनत्व १०.८ किलोमिटर प्रति १०० वर्ग किलोमिटर उल्लेख गरिएकोमा हाल रणनीतिक सडक सञ्जाल मात्र गणना गर्दा सडक घनत्व २३ किलोमिटर प्रति १०० वर्ग किलोमिटर तथा स्थानीय सडक सञ्जालसमेत गणना गर्दा कम्तीमा ६३ किलोमिटर प्रति १०० वर्ग किलोमिटर छ ।
रणनीतिक सडक र स्थानीय सडक सञ्जालमा गरी हालसम्म ३ हजार ३ सय ५० वटा पुलको निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय यातायात नीति २०५८ अनुसार तत्कालीन ७५ जिल्लाका सदरमुकामलाई सडक सञ्जालले जोड्न चुनौती थियो । पछिल्लो दुई दशकमा सडक सञ्जाल विस्तारमा उल्लेख्य प्रगति भइसकेको छ ।
तर, निर्धारित इन्जिनियरिङ डिजाइन पद्धतिबाट मात्र सडक आयोजना विकास गर्न आवश्यक भएको विगतमा निर्माण भएका ग्रामीण सडकहरूमा न्यूनतम् इन्जिनियरिङ मापदण्डहरू पूरा नगरेका कारण सडक सुरक्षामा चुनौती थपिएका छन् ।
यस्तो अवस्थालाई सुधार गर्दै सुरक्षित र गुणस्तरीय यातायात प्रणालीका रूपमा ती सडकको स्तरोन्नति गर्नुपर्ने चुनौती रहेको र यस परिस्थितिमा दिगो आर्थिक वृद्धिका लागि योजना तर्जुमा गरिएको छ ।
साथै यातायात प्रणालीको राष्ट्रिय भू–उपयोग, बस्ती विकास र अन्य क्षेत्रगत विकासका योजनासँग आबद्ध गरी आर्थिक, सामाजिक लाभ लिने उल्लेख छ ।
यसैगरी लामो दूरीका सार्वजनिक यातायात सहरी तथा ग्रामीण सार्वजनिक यातायात सेवामा निजी क्षेत्रको उल्लेख्य लगानी रहेको सन्दर्भमा बजारको मागअनुसार लामो दूरीका सार्वजनिक यातायातमा आधुनिक सेवाको विस्तार गर्ने उल्लेख छ ।
खासगरी काठमाडौँमा देखिएको ट्राफिक अस्तव्यस्ततालाई सहरी सडक सञ्जाल विस्तार सुधारका साथै प्रभावकारी ट्राफिक व्यवस्थापन एवं वैज्ञानिक नियमन पद्धतिको कार्यान्वयनमार्फत समाधान गर्नेगरी नीति परिमार्जन गरिएको छ ।
कार्बन उत्सर्जनमा कमी ल्याउँदै प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरण हुने गरी जलवायु परिवर्तन अनुकूलनसहित उत्थानशील र हरित यातायात प्रणालीको विकास गर्ने नीतिमा उल्लेख छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।