ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरूको ध्यानाकर्षण


  प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते, ४:५३

यातायात व्यवसायीहरूले ओभरलोड सवारीसाधनलाई कडाइका साथ नियन्त्रण गर्न माग गर्दै गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, र यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, र अखिल नेपाल यातायात मजदुर संघले सोमबार विभागमा संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्। व्यवसायीहरूले ओभरलोड गाडीहरूलाई जरिवाना तथा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार, भारवहन सीमा उल्लंघनका कारण देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेका छन्। यसले आवतजावतमा समस्या सिर्जना गरेको भन्दै विभागलाई कडाइका साथ नियम लागू गर्न आग्रह गरिएको छ। साथै, मालवाहक सवारी दुर्घटनाका कारण हुने क्षतिको राहतका लागि कोष स्थापना गर्नुपर्ने माग पनि व्यवसायीहरूले राखेका छन्।

व्यवसायीहरूले सडक तथा पुलहरूको नियमित निरीक्षण तथा मर्मतको आवश्यकतासमेत औंल्याएका छन्। साथै, गृह मन्त्रालयबाट जारी भएको १२ बुँदे दुर्घटना न्यूनीकरण प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग राख्दै, १५ दिनभित्र कार्ययोजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।