शिवरात्रीमा यसरी हुँदैछ सवारी व्यवस्थापन


  प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते, ३:५१

शिवरात्रिका दिन सडक अस्तव्यस्त हुने भएकाले कोषले नेपाल प्रहरीसँग मिलेर सवारी व्यवस्थापनको तयारी गरेको छ । प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरीवृत्त गौशालाले सवारी तथा पार्किङ व्यवस्थापन मिलाउनेछन् । कोषले चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा अवरोध नहुने गरी सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीसँग समन्वय गरेको छ ।

भक्तजनको भिडका कारण सडक नै जाम भएमा वैकल्पिक मार्ग प्रयोग गरिनेछ । चक्रपथ हुँदै चल्ने सवारीसाधनलाई भित्री सडक तोकिनेछ । धोबी खोला करिडोर, ज्ञानेश्वर, मित्रपार्क ओरालोलगायत सडक वैकल्पिक रूपमा प्रयोग हुनेछन् । त्यस्तै, तिनकुनेतर्फ हुँदै आएका सवारीसाधन सिनमंगल, नयाँ बानेश्वरतर्फबाट गुड्न दिइनेछ । सो दिन मालबाहक सवारीसाधनलाई रोकिनेछ ।

कोटेश्वरतर्फबाट आएका मालवाहक गाडी तिनकुने र महाराजगन्ज हुँदै आएका मालवाहक सवारीसाधन चाबहिलमा रोकिनेछ । गौशाला चोकमा भिडभाड भएर सवारीसाधन चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ जाने सवारीसाधन रोकिनेछ । त्यस्तै, बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी, रातोपुल, सिफल चौर, जयबागेश्वरीबाट आउने सवारीसाधनलाई पनि रोकिनेछ । ती सवारीसाधनले वैकल्पिक मार्ग अपनाउनुपर्नेछ ।

यी ठाउँमा तोकिएको छ पार्किङ
भक्तजन चारैतिरबाट आउने भएकाले शिवरात्रिका दिन पशुपति क्षेत्रमा पार्किङको समस्या हुन्छ । कोषले ट्राफिकसँग समन्वय गरी वनकाली खुला चौर, गुह्येश्वरी, भण्डारखाल, सिफलचौर, अमलकोट, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर, तिलगंगा आँखा अस्पतालबाहिरको खाली ठाउँलगायतमा पार्किङको व्यवस्थापन गरेको छ । सरकारी निकायका पदाधिकारी र सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरीवृत्त, कोषको कार्यालय र कोषको भित्री खाली जग्गामा पार्किङ गर्न पाइनेछ ।

झन्डै आठ सय सुरक्षाकर्मी
महाशिवरात्रिका दिन सुरक्षा व्यवस्थापनको जिम्मा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र नेपाली सेनालाई दिइएको छ । यी निकायबाट झन्डै आठ सय सुरक्षाकर्मी परिचालन हुने कोषले जनाएको छ । गाँजा सेवन तथा वितरण गर्नेमाथि प्रहरीले निगरानी राख्नेछ । नेपाल प्रहरी र नेपाली सेनाले खोजखबर कक्षसमेत त्यहाँ स्थापना गर्नेछन् । त्यस्तै, मारवाडी सेवा समिति, नेपाल स्काउट, नेपाल स्वयंसेवक संघले लाइन व्यवस्थापन र भक्तजनको सहजताका लागि काम गर्नेछन् ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।