ट्याक्सी चालकको हत्या गरी फरार व्यक्ति १५ वर्षपछि पक्राउ


  प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते, ३:२५

काठमाडौं । भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरमान लामा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो ।

उनीसहितको चार जनाको समूहले ट्याक्सी चालक मेघबहादुर तामाङको हत्या गरेका थिए । घटना २०६६ मंसिर २४ गतेको हो । राति सवा १२ बजेतिर ठमेलबाट ट्याक्सी बुक गरेर चार जनाको समूह भक्तपुर पुगेको थियो ।

भक्तपुर र काठमाडौंको सीमा क्षेत्र नरफाँट पुगेपछि ट्याक्सीमा सवार चार युवाहरूले गलबन्धीले घाँटी कसेर ट्याक्सी चालकको हत्या गरेका थिए । बाँकी दुई जना भने फरार थिए । हत्यापछि उनीसँग भएको मोबाइल र नगद उक्त समूहले लुटेर लगेको थियो ।

उनको हत्या भएपछि त्यतिबेला प्रहरीले विनोद लामा र श्याम तामाङलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुई र फरार दुई गरी चार जनालाई प्रतिवादी बनाउँदै भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । भक्तपुर अदालतले चारै जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । यता दुई जना भने फरार नै थिए । फरार मध्ये वीरमानलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि अदालतमा उपस्थित गराएर कारागार पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

पक्राउ परेका व्यक्तिबारे आवश्यक कानुनी प्रक्रिया अधि बढाइएको पनि प्रहरीले जनाएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।