गुल्मीको मालिका गाउँपालिकाका एक कर्मचारीले चलाउँदै आएको मोटरसाइकल करिब २ हप्तादेखि सडकमै बेवारिसे छ । सरकारी नम्बर प्लेटको उक्त मोटरसाइकल ती कर्मचारीले माघ २४ गतेदेखि सडकमै छोडेर हिँडेपछि बेवारिसे बनेको हो ।
कच्ची सडकको छेउमा थन्किएको उक्त लु १ ब ८७७ नम्बरको मोटरसाइकल वडानम्बर–१ नेटा वडा कार्यालय सहायक सुनिल थापाले प्रयोग गर्दै आएका थिए । घरदेखि वडाकार्यालय जाने क्रममा मोटरसाइकल बिग्रिएकाले सडकमै छोडेको उनको तर्क छ ।
आफूले मोटरसाइकल मर्मतका लागि मिस्त्रीलाई फोन गरेको तर, मिस्त्रीले शनिबार बाहेका अन्य समयमा नभ्याउने बताएकाले त्यहीं छोडेर हिँडेको कार्यालय सहायक थापा प्रष्टीकरण दिन्छन् । ‘त्यसै दिन काम विशेषले काठमाडौं जानुपर्ने भएकाले कार्यालयलाई मोटरसाइकल बिग्रिएको बारे जानकारी गराएरै गएको हुँ’, उनले भने ।
आफूले स्थानीयको घरअगाडि सुरक्षित स्थानमा मोटरसाइकलाई छोडेर गएको तर, त्यस बीचको समयमा स्थानीयले अन्यत्र सारिदिएर फोटो खिचेको भन्दै थापाले उल्टै आरोप लगाए ।
सरकारी साधनको दुरुपयोग गरेको भन्दै त्यहाँका स्थानीय आक्रोशित समेत बनेका छन् । सार्वजनिक स्रोतबाट किनिएका सवारी साधनको व्यवस्थापन र प्रयोगमा गाउँपालिकाको ध्यान नपुगेको स्थानीयको आक्रोश छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







