कमलादीमा भासिएको सडक आजबाट सञ्चालन


  प्रकाशित मिति : २०८१ मंसिर २७ गते, १:१९

कमलादीमा भासिएको सडक मर्मतपश्चात् आजबाट सञ्चालनमा आएको छ । भासिएको सडकमा ‘बक्स कल्भर्ट’ निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको हाे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको आज शुभारम्भ गर्नुभएको हो ।

व्यस्त सडक भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिनुभयो । काठमाडौँ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यसलगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरु परिचालन गरी विस्तृत अध्ययन गराएको थियो । प्राविधिक तथा विज्ञहरुले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यसलगत्तै मन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुननिर्माण गर्न निर्देशन दिएको थियो । गत साउन २८ गते विज्ञहरुले निरीक्षण गरी लागत अनुमान तयार पारी स्वीकृत गरिएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौँले गत असोज १८ गते रु ४९ लाख ६३ हजार मा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्कालगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । काठमाडौँ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मङ्सिर १७ गते सम्पन्न गर्ने गरी कात्तिक ३ गतेबाट काम सुरु भएको थियो ।

राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्वको हुनसक्ने जनाउँदै पुरातत्व विभागले चासो देखाएको थियो । यसका कारण विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले पनि निर्माणमा केही ढिलाइ भएको थियो । तर कात्तिक १ गते पुरातत्व विभागले कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो । बेमौसमी बाढी, दसैँ, पुरातत्वविभागसँग सहमति लिनुपर्ने प्रक्रियालगायतका चुनौतीबीच पनि निर्धारित समयभन्दा अघिनै काम पूरा भएको जनाइएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।