मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन


  प्रकाशित मिति : २०८१ कार्तिक १३ गते, ७:३४

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गर्नुभएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्मासहित मन्त्री दाहाल आज अपराह्न मीनभवनस्थित विभागको कार्यालय पुग्नुभएको हो । त्यस क्रममा उहाँले सेवाग्राहीसँग विभागबाट प्रवाह भइरहेको सेवाका बारेमा जानकारी लिनुभयो । सेवाग्राहीले छिटोछरितो सेवा प्रवाहको वातावरण बनाइदिन आग्रह गरेका थिए । सेवाग्राहीसँग कुराकानीपछि मन्त्री दाहालले टोकन प्रणाली लागूगरी लाइन नलागेर सेवालिने प्रबन्ध मिलाउन विभागका महानिर्देशकलगायत सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभयो ।

उहाँले डिजिटल सवारी चालक अनुमतिपत्र र इम्बोस्ड नं छपाइका बारेमा पनि जानकारी लिनुभयो । विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक चार हजारका दरले चालक अनुमतिपत्र छपाइ भइरहेको जानकारी गराउनुभयो । प्रदेशस्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा केही चाप घटेको र डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उहाँको भनाइ थियो । “इम्बोस्ड नं जडानलाई थप तीव्र र व्यवस्थित पार्दैछौँ । विद्युतीय सवारी दर्ता प्रणालीलाई देशैभरि कार्यान्वयन गरिने छ । यस्तै नयाँ सडकमा थप रुट निर्धारणका लागि अध्ययन भइरहेको छ”, महानिर्देशक पोखरेलले भन्नुभयो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।