३० प्रहरीलाई हेभी सवारी चालक तालिम


  प्रकाशित मिति : २०८१ कार्तिक १३ गते, १:२८

नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी सवारी चालक तालिम १५औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले प्रशिक्षार्थीहरू तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक रावलले संगठनको आवश्यकता अनुसार हेभी सवारी साधनहरू चलाउन तथा परिचालन गर्नको निमित्त तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई थप सजग र सतर्क भई आ-आफ्नो कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई। अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै असोज २ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार १२ जना र प्रहरी जवान १८ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।