दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको भन्दै अज्ञात व्यक्तिले सूचना दिएपछि नेपाली सेना र नेपाल प्रहरीले विमानस्थलमा सर्च अपरेशन थालेको छ ।

सेना र प्रहरीको तालिम प्राप्त कुकुरसमेत विमानस्थलमा परिचालित गरिएको छ । सेनाको बम डिस्पोजल र तालिम प्राप्त कुकुरसहितको टोली विमानस्थलमै तैनाथ रहन्छन् । प्रहरीको पनि तालिम प्राप्त कुकुर विमानस्थलमा नियमित खटिन्छन् ।
यूके १५५ कलसाइनको जहाजमा १५७ जना यात्रु सवार छन् । यो विमान मंगलबार अपराह्न ४ः११ बजे अवतरण गरेको थियो । सूचना प्राप्त भएलगत्तै सावधानी बनाएर जाँच भइरहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । उनले भने, ‘अहिलेसम्म त्यस्तो शंकास्पद वस्तु भेटिएको छैन ।’
यो सूचनापछि अहिले विमानस्थलमा उडान–अवतरण रोकिएको छ । भारतमा पछिल्लो एक सातामा कम्तीमा १०० विमानमा बम रहेको भन्दै गलत सूचना प्रवाह भएको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गएको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए । आइतबार कम्तिमा २० वटा विमानमा बमको थ्रेट दिइएको थियो ।
यसरी बम राखेको भन्दै गलत सूचना राख्नुको कारण पत्ता लागेको छैन । यद्यपि, कतिपय सञ्चारमाध्यमले यस्ता धम्कीलाई खालिस्तानी अभियानसँग जोडेर हेरेका छन् ।
बम राखिएको सूचनापछि भारतबाट भएका विभिन्न अन्तर्राष्ट्रिय उडान डाइभर्ट पनि भएका छन् । यस्तै थ्रेट आएपछि अघिल्लो साता सिंगापुरमा फाइटर जेट समेत परिचालन गरेर विमानलाई स्कर्ट गरिएको थियो ।
समाचार संस्था रोयटर्सका अनुसार, एयर इण्डियाको विमानमा बम रहेको भन्दै एयरलाइन्सलाई कसैले इमेल गरेको थियो । पछि विमानलाई अवतरण गराएर जाँच गर्दा त्यहाँ शंकास्पद वस्तु फेला परेको थिएन ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







