चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा नेपालमा दुई खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यही अवधिका तुलनामा १५.२ प्रतिशत धेरै हो ।

काठमाडौँ– वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै नेपाल भित्रिने रेमिट्यान्स रकममा पनि उल्लेख्य वृद्धि भइरहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक गरिएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो दुई महिना अर्थात् साउन र भदौमा नेपालमा दुई खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत वर्षको यही अवधिका तुलनामा १५.२ प्रतिशत धेरै हो । अमेरिकी डलरमा यस अवधिमा एक अर्ब ९६ करोड रेमिट्यान्स आएको देखिएको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि एक लाख १७ हजारले अनुमति लिएका थिए । यो संख्या अघिल्लो वर्षको भन्दा धेरै हो ।
रेमिट्यान्सको वृद्धिसँगै देशको वैदेशिक मुद्राको सञ्चितिमा पनि सुधार आएको छ । भदौसम्म नेपालको वैदेशिक मुद्राको सञ्चिति १६ अर्ब चार करोड अमेरिकी डलर पुगेको छ । यो सञ्चितिले १३.७ महिनाको वस्तु र सेवाको आयात थेग्न सक्छ ।सामान्यतया सात महिनाको वस्तु र सेवा थेग्न मिल्ने विदेशी मुद्राको सञ्चिति राख्ने नेपाल राष्ट्र बैंकको लक्ष्य छ ।
भदौसम्म देशको चालु खाता भनिने वैदेशिक कारोबारलाई जनाउने खाता ४९ अर्ब ६९ करोड बचतमा छ । यो खाता बचतमा हुनुको अर्थ देशबाट बाहिरिने रकमका तुलनामा भित्रिने रकम धेरै हुनु हो ।
देशले सामान र सेवा आयात गर्दा, नेपाली वैदेशिक भ्रमणमा जाँदा, विदेशी ऋण तिर्दा रकम बाहिरिन्छ भने रेमिटेन्स, वस्तु र सेवा निर्यात, पर्यटक आम्दानी आदि माध्यमबाट देशमा विदेशी रकम भित्रिन्छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






