सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १६१ मा ज्यान मरेमा हुने सजायको ब्यवस्था गरेको छ । जसमा उपदफा (१) मा कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारी रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणम स्वरुप एक्काइस दिनभित्र मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको ठहरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्म कैद हुने व्यवस्था रहेको छ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्ति लाई कसुरको मात्रा अनुसार पाँच वर्ष देखी बाह्र वर्ष सम्म कैद हुने ब्यवस्था ऐनले गरेको छ ।
उपदफा (२) बमोजिम सवारी चलाउँदा कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मासिनलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप एक्काईस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्ष देखि दश वर्ष कैद र तीस हजार रुपैया देखि एक लाख रुपैयासम्म जरीवाना हुने व्यवस्था ऐनले गरेको छ ।
उपदफा (३) बमोजिम कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउमा रहे वसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुई हजार रुपैयासम्म जरिवा वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
उपदफा (४) बमोजिम चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) वमोजिमको कसूर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैया समेत जरीवाना हुने, तर जन्म कैद हुनेमा त्यस्तो थप जरिवाना हुने व्यवस्था ऐनले गरेको छैन ।
उपदफा (५) बमोजिम कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






