नेपालका अधिकांश सडक साँघुरो र घुमाउरो अनी भौगोलिक बनावट अनुसार नै बनेका छन् । भिरालोमा भिरतिरै कोल्टे परेको,उकालोमा ठाडो उकालो,पहाडी बाटाहरुमा थुप्रै घुम्ती छन् । सडकमा कतै कतै मात्र ट्राफिक चिन्ह र साइनबोर्ड मात्रै देख्न सकिन्छ धेरै ठाउँमा यी कुराहरु पनि देख्न पाइदैैँँन् । त्रिशुली नदी किनारको सडक भएर यात्रा गर्दा चालक र यात्रुको मनमा सधै त्रास भैरहन्छ । तराई बाट पहाडका जिल्लाहरुलाई राजधानी काठमाडौंसम्म जोड्ने यो सडकमा प्रायजसो सडक दुर्घटनाहरु भैरहेका नै हुन्छन । कहिले रात्री बस खस्छ,कहिले मालवाहक ट्रक,कहिले प्राईभेट जीपहरु खस्ने गरेका छन् । त्रिशुली नदिमा सवारी साधन खसेर कति बेपत्ता भए भन्ने अझै लेखाजोखा छैन आज मात्रै देशका विभिन्न स्थानमा दर्जन बढी सडक दुर्घटना भएका छन् । चाडपर्व नजिकिदै गर्दा यात्रुहरुको चहलपहल बढ्छ र सडक दुर्घटनाका घटना पनि हरेक बर्ष बढ्छन् । बार्षिक हजारौंले ज्यान गुमाउँछन् ।
धेरै सडक दुर्घटना हुनुका आठ कारण
१.सडकको अवस्था अहिलेसम्म नेपालमा सबै प्रकारका (कालोपत्रे खण्ड सहित र कच्ची) सडक पुगेका छन् । यो आवमा देशभर ७५६ किमि सडक कालोपत्रे गरिएको छ । हामीकहाँ कुनै पनि सडकको ट्रयाक खोल्नेबित्तिकै सवारी सञ्चालन गरिन्छ । प्राविधिक रूपमा ‘अनफिट’ सडकमा दुर्घटनाको उच्च जोखिम हुन्छ ।
२.‘रोड सेफ्टी अडिट’ र ‘ब्ल्याक स्पट’ न्यून, सानो सुरक्षामा केन्द्रित भई व्यवस्थित तरिकाले सडकको जाँच गर्ने विधि नै सडक सुरक्षा परीक्षण(रोड सेफ्टी अडिट) हो । यसरी जाँच गर्दा सडकमा हुन सक्ने सम्भावित खतरालाई पहिचान गर्ने र समाधान गर्ने गरिन्छ यसको साथै ब्ल्याक स्पट चिनाउने अध्ययन पनि कम हुने गरेको छ । भने बनेका सेफटी अडिट पनि सानो हुने गरेका छन् ।
३.सवारीसाधनको अवस्था ०५६ मा सरकारले उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गर्न नपाउने व्यवस्था गरेको छ । पुराना सवारीसाधनको ब्रेक तथा अन्य मेसिन विग्रिँदा वा काम नगर्दा पनि दुर्घटनामा पर्ने गरेका छन् ।
४.सवारीचालकको (अ)दक्षता र (कम)अनुभव, नेपालमा अझैसम्म व्यावसायिक र गैरव्यावसायिक भनेर चालकलाई वर्गीकरण गरिएको छैन । यस्तो निश्चित मापदण्ड नहुँदा व्यावसायिक रूपमा सवारी चलाउने काम नगर्नेले पनि सवारी चलाउँदा दुर्घटना हुने गरेका छन् । किनकि उसमा अनुभवको कमी हुने गर्छ । यसको साथै, ट्राफिक संकेत बुझ्न सक्ने क्षमताको जाँच र शैक्षिक योग्यता अझै तोकिएको छैन । कतिपय यात्रुबाहक सवारीमा कम उमेरका व्यक्तिले चलाउने र चलाउनमा दक्षता नहुँदा दुर्घटना हुने गरेका छन् भने चालकले मादक पदार्थ सेवन गरेर सवारी साधान चलाउदा समेत दुर्घटना बढ्ने गरेको छ ।
५.यात्रुको ढिपी यात्रुको ढिपीका कारण पनि सडक दुर्घटना हुने गरेको भनाइ छ । गन्तव्यसम्म पुग्न चालकलाई दबाब दिने, छिटो हाँक्न लगाउने लगायत व्यवहारले पनि दुर्घटनालाई निम्त्याइरहेको छ ।
६.क्षमताभन्दा बढी यात्रु देशका विभिन्न ठाँउमा भएका दुर्घटनामा देखिने एउटा ‘ट्रेन्ड’ क्षमताभन्दा बढी यात्रु बोक्नु हो । प्राविधिक रूपमा सक्षम नरेहका सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा सवारीसाधनले सन्तुलन गुमाउँदा दुर्घटना हुने गरेको पाइन्छ ।
७.तीव्र गति सडक विभागले गरेको अध्ययनले सवारीसाधनको तीव्र गतिलाई पनि दुर्घटनाको कारण मानेको छ । सडक निर्माण गर्दा निश्चित गति तोकिएको हुन्छ । जबकि चालकले सो मापदण्ड तोडेर सवारी हाँक्दा पनि दुर्घटना भएको छ । त्यस्तै, सवारीसाधन चलाउँदा अन्य विषयमा ध्यान केन्द्रित गर्दा, क्षमताभन्दा बढी भार बोकाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा पनि दुर्घटना हुने अध्ययनले देखाएका छन् ।
८.अन्य कारण वर्कसपको मापदण्ड व्यवस्थित गरिएको छैन । सडक र सवारीसाधन नियमित गर्ने ऐ– नियम समय सापेक्षित छैनन् । त्यस्तै, सडक विभागले गरेको अध्ययनले ड्राइभरको ‘ड्राइभिङ ह्याबिट’ परिवर्तन नभएको देखाएको छ । यसले पनि दुर्घटना बढाएको छ । साथै, सडकको मर्मत समयमा हुने गरेको छैन ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







