अवरुद्ध भएका सडकहरु खुलाइदै


  प्रकाशित मिति : २०८१ अशोज १४ गते, १:३२

 शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ ।

देशको राजधानी जोडने लाइफ लाइनका रुपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसें–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात संचालनमा आएको मन्त्रालयले जनाएको छ ।

बीपी राजमार्गको वर्दिवासदेखि नेपालथोकसम्मको अवरोध हटाइ यातायात सुचारु भएपनि पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

टोखा–गुजें भञ्ज्याङ्ग–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छभने स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबार साँझसम्म संचालनमा आउने पनि ढकालले जानकारी दिनुभयो।

अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड २०८१ असाेज १४ गते सोमबार साँझसम्म सुचारु हुनेगरी कार्य भइरहेको छ । तर बीपी राजमार्गको विकल्पको रुपमा मुलकोटबाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सुचारु भएको छ भने सित्खा–खाँडादेवी–गाल्वा सडक असाेज १४ गते सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।

सडक विभागको तथ्यांकअनुसार असाेज १३ गते आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ ।

पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्यांक छ । यद्यपी, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको मन्त्रालयको दाबी छ ।

चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठूलो जनशक्ति परिचालन गरेको जनाएको छ । अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये ४७ स्थानमा राजमार्गहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने देखिएको छ ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।