देशभरका सडक यात्रा सुरक्षित बनाउन खाल्डाखुल्डी पुरिदै


  प्रकाशित मिति : २०८१ अशोज ४ गते, १०:०४

देशभरका सडक यात्रा सुरक्षित बनाउन खाल्डाखुल्डी पुर्ने अभियान सुरु भएको छ । दसैंमा सडक यात्रालाई सुरक्षित बनाउन देशभरि पिच गरिएका सबै सडकमा खाल्डाखुल्डी पुरिसक्ने र सडक मर्मत गर्ने अभियान सुरु गरिएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक रामहरि पोखरेलले दसैंको अवसरमा देशभरिका सबै सडकलाई सुरक्षित बनाउन असोज १० गतेभित्र सबै खाल्डाखुल्डी पुरिसक्ने बताउनुभयो । उहाँका अनुसार कालोपत्रे भइसकेका ६ हजार किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्न मात्र यस वर्ष संघीय सरकारले १ अर्ब रूपैयाँ छुट्याएको छ। असोज १० गतेभित्र खाल्डाखुल्डी पुरिसक्ने गरी सडक विभागले तत्काल ३० करोड रूपैयाँ मातहतका निकायहरूलाई उपलब्ध गराएको जनाएको छ।

कालोपत्रे सडक मर्मत गर्न र खाल्डाखुल्डी पुर्न विभागले देशभरि दुई हजार ६ सय कामदार खटाएको छ। यी कामदारहरूलाई पहाडी क्षेत्रमा प्रत्येक चार किलोमिटर सडकमा एक जना र तराई/मधेसमा प्रत्येक ६ किलोमिटरमा एक जनाको दरले खटाइएको छ। यसैगरी प्रत्येक चार मजुदरको सुपरिवेक्षण गर्न एक जना सुपरभाइजर खटाइएको छ। यी कामदारहरूले नियमित रूपमा सडकको मर्मत गर्नेछन् र खाल्डाखुल्डी पुर्नेछन्।

खाल्डाखुल्डीका कारण सडक असुरक्षित हुँदै गएको व्यापक गुनासो आउन थालेपछि विभागले देशभरि खाल्डा पुर्ने अभियान सुरु गरेको जनाएको छ । खासगरी दसैंको बेला सडक दुर्घटनाको सम्भावना बढी हुने भएकाले त्यसको न्यूनीकरणका लागि खाल्डाखुल्डी पुर्ने अभियान सुरु गरिएको हो।

विभागका अनुसार संघीय सरकारको मातहतमा देशभरि १४ हजार ९ सय किलोमिटर सडक मर्मत–सम्भारको जिम्मेवारी तोकिएको छ। जसमध्ये करिब ६ हजार किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी करिब ९ हजार किलोमिटर सडक कहीँ निर्माणाधीन अवस्थामा छ भने कहीँ ग्राभेलको अवस्थामा छ। नारायण–बुटवल र मुग्लिन–पोखरा खण्डलाई निर्माण भइरहेको सडकमा राखिएको छ।

संघीय सरकारको मातहतमा देशभरि ८० वटा राजमार्ग छन्। यी राजमार्गबाहेक प्रदेश सरकार र स्थानीय सरकारले पनि सडक निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएका छन्।

विभागका उपमहानिर्देशक तथा सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालका अनुसार पिच गरिएका कुल ६ हजार किलोमिटर सडकमा देखिएका र सबै खाल्डाखुल्डी जोड्ने हो भने एक लाख ६७ हजार वर्गमिटर क्षेत्रफल हुने गरेको छ। अर्यालका अनुसार असोज १० गतेसम्म विभागले सबै खाल्डाखुल्डी पुरिसक्ने, एकतर्फी सञ्चालन भएका सडकलाई दुई तर्फी सञ्चालन गर्ने, पहिरोलगायत विभिन्न कारणले एकतर्फ पनि सञ्चालन नभएका सडकलाई दुईतर्फी सञ्चालन गर्ने योजना विभागले अघि सारेको छ। अर्यालका अनुसार बिहीबारसम्म देशभरिका सडकमध्ये दुई सय ४६ किलोमिटर सडक एकतर्फी सञ्चालन भइरहेको छ। असोज १० गतेसम्म सडकमा उत्पन्न भएका सबै अवरोध हटाउने योजना विभागले अघि सारेको छ।

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।