इटहरी उपमहानगरपालिका द्धारा विद्युतीय बस सञ्चालनमा,संविधान दिवसको अवसरमा आज र भोली निशुल्क सेवा


  प्रकाशित मिति : २०८१ अशोज २ गते, २:२२


इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिकाले आजबाट नियमित रुपमा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट नगरवासीलाई सुविधाका लागि बस सेवा सुरु गरेको सुचना अधिकारी ओसन कुमार चौधरीले बताउनु भयो । इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन् ती वडाका सम्पूर्ण नागरिकलाई प्रमुख बजार र उपमहानगरपालिका सँग जोड्नको लागि सहज होस भन्ने उदेश्यले बस सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख हेम कर्ण पौडेलले जानकारी दिनुभयो । उपमहानगरपालिका आफैले बस सेवा सञ्चालनमा ल्याउँदा स्थानीयहरु समेत खुसी भएका छन् । उक्त बसमा ज्येष्ठ नागरिकले चढ्नका लागि शुल्क तिर्नुपर्ने छैन् भने अपाङ्गलाई समेत बस चढ्न निशुल्क गरिएको छ र विद्यार्थीहरुले कार्ड देखाएर यात्रा गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको र अन्यको लागि भाडादर २० रुपैँया मात्रै तोकिएको छ । उपमहानगरपालिकाले यी बसहरुमा जीपीएस प्रविधि समेत प्रयोग गरेको छ ।


यस्तै उपमहानगरपालिकाको इटहरी नगरबस एप्स मार्फत यी बसहरुको रुट,बस कहाँ रहेको र त्यसलाई स्टपसम्म आउँन कति समय लाग्छ भन्ने जानकारी प्राप्त गर्न सकिने उपमहानगरपालिकाले जनाएको छ । हाललाई बस चार्जिङका लागि २ ओटा स्टेशन निर्माण गरिएको छ भने अरु पनि थप्दैँ जाने जनाइएको छ । उक्त बस उपमहानगरपालिकाले गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजारमा खरिद गरेर आफैले सञ्चालनमा ल्याएको छ । संविधान दिवसको अवसरमा असोज २ गते बुधबार र असोज ३ गते बिहीवार सम्पूर्णलाई निशुल्क रुपमा समेत सेवा प्रदान गरिने जनाइएको छ । संविधान दिवस असोज ३ गते मनाइदैैँ छ ।

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।