नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्मी र नागरिक समाजका अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै त्यसको रोकथामका लागि आवश्यक उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यसबारे उहाँहरुले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउनुभएको छ ।
राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषद्को यथाशीघ्र गठनलगायत देशको सडक सुरक्षाको दिगो समाधान गर्न उहाँहरुले माग गर्नुभएको छ ।
“गत असार २८ गते नारायणगढ़–मुग्लिङ सडकमा गएको पहिरोमा दुई यात्रुवाहक बस हराएका छन्, त्यसमा सवार यात्रुको स्थिति अज्ञात छ । त्रिशूली नदीले बगाएको ठानिएका दुवै बस अझै भेटिएका छैनन्”, ज्ञापनपत्रमा उल्लेख छ । सडक सुरक्षामा क्रियाशील अभियानकर्ताहरूले देशैभरि विभिन्न नयाँ एवम् पुराना सडक मार्गमा सडकको अवस्था बिग्रेका कारण यातायात अवरुद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको सन्दर्भमा उहाँहरुले उद्धार र खोजी कार्य तीव्र पार्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्पूर्ण सरकारी संयन्त्रलाई निर्देशन दिन सरकारसँग आग्रह गर्नुभएको छ ।
“प्रहरीको तथ्याङ्कअनुसार विगत १० वर्षको अवधिमा मात्रै करिब २४ हजार जनाले सडक दुर्घटनामा परी ज्यान गुमाएका र करिब ७२ हजारभन्दा बढी गम्भीर घाइते भएका छन्”, ज्ञापनपत्रमा भनिएको छ । एकै वर्षमा करिब एक लाख व्यक्ति सडक दुर्घटनाबाट घाइते भई उपचारका लागि स्वास्थ्य संस्थामा आएको तथ्याङ्क छ ।
लाखौँ व्यक्ति सडक दुर्घटनाका पीडा लिएर बाँचिरहेको पीडादायी अवस्था रहेको ज्ञापनपत्रमा उल्लेख छ । भारतलगायत छिमेकी देशले सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या घटाइरहेको सन्दर्भमा नेपालमा भने विगत १० वर्षमा मृत्यु दर २५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । सडक दुर्घटना कम गरेर देशको सडक यातायात सुरक्षित भएको प्रत्याभूति गर्न सके नेपालमा पर्यटकलाई थप आकर्षित गर्न सकिने तथा देशको आर्थिक प्रगतिमा विशेष टेवा पुग्ने ज्ञापनपत्रमा उल्लेख छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







