धनगढी उपमहानगरपालिकाले आज नगर बससेवाको उद्घाटन गरेको छ ।
फूलबारी बसपार्कमा एक कार्यक्रम आयोजना गरी नगर बससेवाको उद्घाटन गरिएको हो । उपप्रमुख कन्दकला रानाले सिटी बजाएर र हरियो झन्डा देखाएर उक्त नगर बससेवाको उद्घाटन गर्नुभयो ।
उपमहानगरपालिकाले खरिद गरेको नगर बस कैलारी गाउँपालिकाको हसुलियाबाट, फूलबारी, धनगढी हुँदै गोदावरीको अत्तरियासम्म चल्ने रुट तोकिएको उपमहानगरपालिकाले जनाएको छ । यही असोज १ गतेदेखि सुरु हुने नगर बससेवा बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ । छवटा बसबाट नगर बससेवा सुरु गरिएको छ ।
धनगढीको ‘के एन्ड के कन्स्ट्रक्सन’ले वार्षिक रु २८ लाख ८८ हजार नौ सय १९ मा नगर बससेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजस्व शाखा प्रमुख डिल्लीराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०८१ असोज १ गतेदेखि सुरु हुने नगर बससेवाको न्यूनतम भाडादर रु २० तोकिएको छ । करिब सात किलोमिटर दूरीमा रु २० तिरेर नगर बसमा यात्रा गर्न पाइनेछ । बस बिहान ६ देखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।
हरेक दिन कैलारीको हसुलियाबाट बिहान छ बजे बस छुट्नेछभने दुई बसको अन्तराल अधिकतम ३० मिनेटभन्दा बढी नहुने राजस्व शाखा प्रमुख ओझाको भनाइ छ । नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्ने बताउँदै तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
दश वर्ष अर्थात् २०८१ भदौ मसान्तसम्म नगर बस सञ्चालनको ठेक्का के एन्ड के कन्स्ट्रक्सनले पाएको हो । नगर बस सञ्चालनले सर्वसाधारणलाई लाभ भएको नगर प्रमुख गोपाल हमालले बताउनुभयो । फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, गौशाला निर्माणजस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको उहाँले बताउनुभयो ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।







