सडक दुर्घटनामा दक्षिण पूर्वी एसियामै नेपाल सबैभन्दा खराब अवस्थामा – डब्ल्यूएचओ


  प्रकाशित मिति : २०८१ भदौ २५ गते, २:५७

२०८१ असार २८ गते नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी चल्दै गर्दाको दृश्य


नेपालमा १० वर्षमै २४ हजारले सडक दुर्घटनामा ज्यान गुमाए

काठमाण्डौ – विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले नेपालमा सडक दुर्घटनाको अवस्था भयावह भएको जनाएको छ । यहीँ भदौ १७ गते सोमबार सार्वजनिक प्रतिवेदनमा नेपालमा प्रति एक लाख मानिसमा २८.२ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको र यो दक्षिण पूर्वी एसियाका १० देशमध्ये सबैभन्दा उच्च रहेको जनाइएको छ । सडक सुरक्षाका दृष्टिले नेपालको अवस्था दक्षिण पूर्वी एसियाका १० देशमध्ये सबैभन्दा खराब रहेको समेत देखाएको छ । सन् २०११ मा नेपालमा सडक दुर्घटनाका कारण झन्डै ६ हजार आठ सय जनाले ज्यान गुमाएका थिए भने सन् २०२१ मा झन्डै ८ हजार पाँच सय जनाले ज्यान गुमाएका भन्दै डब्ल्यूएचओले सडकमा जोखिम झनै बढिरहेको जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा २२ प्रतिशतभन्दा धेरै पैदलयात्री र साढे ३ प्रतिशतभन्दा धेरै साइकल चालक रहेका छन् ।


संयुक्त राष्ट्रसङ्घले सडक सुरक्षाका लागि निर्धारण गरेका १२ वटा लक्ष्यमध्ये राष्ट्रसङ्घको सडक सुरक्षासँग सम्बन्धित महासन्धिहरूमा आबद्ध हुने बाहेक अरू सबैमा नेपालको प्रस्तुति कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालले सन् २०२१ देखि २०३० बीचको अवधिमा सडक दुर्घटनामा हुने मृत्यु ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ । तर सरकारको पछिल्लो तथ्याङ्कअनुसार बितेको १० वर्षमै सडक दुर्घटनामा २४ हजार जनाले ज्यान गुमाइसकेका छन् ।

सडक सुरक्षामा नेपालमा रहेका कमजोरीलाई बुँदागत रूपमा उल्लेख गरेको प्रतिवेदनमा डब्ल्यूएचओले नेपाललाई सडक सुरक्षा कायम गर्न तत्कालै राष्ट्रिय रणनीति र समयतालिकासहितको कार्ययोजना ल्याउन, सडकहरूको सुरक्षा अडिट गर्न र दुर्घटनापछिको आपत्कालीन उद्धारसम्बन्धी कार्ययोजना बनाएर लागू गर्न सुझाव दिएको छ ।

२०८१ भदौ ७ गते तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेट भएको दुर्घटनामा परेको बसको दृश्य

Tags :

यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।