काठमाडौँ–सडकखण्ड विस्तारका क्रममा सात हजार रुख काटिने भएको छ । बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारका लागि बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयले रुपन्देही र कपिलवस्तु जिल्लामा पर्ने जङ्गलमा रहेका करिब सात हजार रुख काट्न वन विभागसँग अनुमति मागेको छ । सात हजार रुख काटिँदा ७० हजार रुखका बिरुवा रोपिने छ । आयोजनाका प्रमुख होमबहादुर एसीका अनुसार ती सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० बिरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने भएको छ । आयोजना प्रमुख एसीले वन विभागले सबै प्रक्रिया पूरा गरेपछि रुख काट्ने काम सुरु हुने बताउनुभयो । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।
आयोजनाका अनुसार सडक विस्तारकैक्रममा विद्युतका पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ भने सडक नाप गर्ने काम भइरहेको छ । सडक विस्तार अन्तर्गत भौतिक पूर्वाधारको काम भने दसैँपछि मात्र सुरु हुने छ । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छन् भने १४९ वटा कलभर्ट र छ वटा अन्डर पास ओभर पास निर्माण हुने छन् । बुटवल–गोरुसिङ्गे सडक आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ । यस्तै ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ ।
यस यातायात न्यूज अनलाईन पोर्टल र अनलाइन टिभी मार्फत कुनैपनि सामाग्री, समाचार, सूचना प्रकाशन र प्रसारण गर्न पर्ने भएमा सो सम्बन्धि गतिविधि हाम्रो इमेल [email protected] मा पठाउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यहाँहरुको सल्लाह, सुझावको लागि पनि अपेक्षा गर्दछौ ।






